१७ असार २०८३, बुधबार

चीन पुगेलगत्तै उपराष्ट्रपति पुनले थाले भेटवार्ता

चीन पुगेलगत्तै उपराष्ट्रपति पुनले थाले भेटवार्ता

छेन्दु–चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले शिष्टाचार भेट गर्नुभएको छ। उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गर्नुभएको हो । 
चीनका उपप्रधानमन्त्रीसँगको भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध सगरमाथा जत्तिकै उचो नङ र मासु जस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताउनुभयो । उहाँले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाँैदेखि सांस्कृतिक एवम् विविध सम्बन्ध रहेको चर्चा गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्नुभयो । 
उपराष्ट्रपतिले नेपालका प्रधानमन्त्रीहरुको भ्रमणको क्रममा भएका व्यापार तथा पारवहान संझौता र चीनले अगाडि सारेको बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताउनुभयो । उहाँले चिनियाँ बन्दरगाहा प्रयोग सम्बन्धी संझौतामा चाँडै हस्ताक्षर हुनुपर्ने उल्लेख गर्नुहुँदै त्यसमा हस्ताक्षर भएपछि नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताउनुभयो । 
उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै नेपाली भूमी चीन विरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लासा काठमाडौं रेल परियोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुहुँदै लासा, काठमाडौं, लुम्बीनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियालाई जोड्न सकिने र त्यसबाट चीनलाई नै बढी लाभ हुने बताउनुभयो । ‘अवश्य पनि यसबाट नेपाललाई पनि ठूलो लाभ हुनेछ’, उहाँले भन्नुभयो । 
उपराष्ट्रतिले अवरुद्ध तातोपानी नाका सञ्चालमा जोड दिनुहुँदै केरुङ नाकाको स्तरोन्नती, ओलाङचुङगोला लगायतका नाका सञ्चालनमा जोड दिनुभयो । 
उहाँले नेपालले बुधबार नै संविधान दिवस मनाएको स्मरण गर्नुहुँदै संविधान जारी, तीन तहको निर्वाचन र स्थायी सरकार बनेपछि नेपालको एकमात्र ध्यान आर्थिक समृद्धि भएको बताउनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको नारामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै नेपालका समृद्धिका लागि चीनको ठूलो साथ सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले चीनसँग नेपालका ठूलो व्यापार घाटा रहेको उल्लेख गर्नुहुँदै व्यापार घाटालाई सन्तुलनमा ल्याउन दुवै देशले ठोस् पहल गर्नुपर्ने बताउनुभयो । 
उपराष्ट्रपतिले नेपालमा वैदेशिक लगानीका लागि पूर्ण वातावरण रहेको उल्लेख गर्नुहुँदै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीका लागि प्रोत्साहित गरिदिन आग्रह गर्नुभयो । उहाँले नेपालको जलविद्युत, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न आग्रह गर्नुभयो । 
उपराष्ट्रपतिसँगको भेटमा चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनका घनिष्ठ र साझेदारी देश भएको बताउनुभयो । उहाँले नयाँ युगमा चीन नेपाल सम्बन्धलाई नयाँ उचाईमा उठाउनुपर्ने बताउनुभयो । उहाँले बेल्ट एण्ड रोड एनिसियटिभको कार्यक्रम मार्फत नेपालसँगको परम्परागत सम्बन्धलाई चीनले नयाँ उचाईमा उठाउन चाहेको बताउनुभयो । ।
उपप्रधानमन्त्रीले नेपालले एक चीन नीतिप्रति जनाएको दृढ् समर्थन र स्वतन्त्र तिब्बत गतिविधि नियन्त्रणमा खेलेको प्रभावकारी कदमका लागि धन्यवाद दिनुभयो । उहाँले नेपालमा स्वतन्त्र तिब्बत सम्बन्धी कुनै पनि गतिविधि नहुने र नेपाल सरकारले गर्न नदिनेमा चीन पूर्ण विश्वस्त रहेको बताउनुभयो  ।
उपप्रधानमन्त्रीले नेपालको स्थिरता, विकास, समृद्धि र नेपाली जनताको जीवन स्तरमा परिवर्तन ल्याउन नेपालले चाल्ने हरेक कदमको चीनले स्वागत गर्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न चीनको सहयोग रहने बताउनुभयो । उहाँले नेपालमा चीनको विभिन्न परियोजनाहरु सञ्चालनमा रहेको स्मरण गर्नुहुँदै भूकम्पपछिको पुनःनिर्माणको लागि भएका संझौताहरु कार्यान्वयनमा रहेको उल्लेख गर्नुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग बढाउन सकिन्छ की भन्नेमा छलफल भईरहेको समेत बताउनुभयो ।
उपप्रधानमन्त्रीले काठमाडौंसम्म रेल पु¥याउन भईरहेको प्रयासलाई प्रभावकारी बनाउने, तातोपानी नाका सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गर्नुपर्नेमा जोड दिंदै चीन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले नेपालमा लगानीका लागि चीन सरकारले व्यवसायीहरुले प्रोत्साहन गरिरहेको बताउनुभयो ।  
१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा भाग लिन उपराष्ट्रपति बुधबार छुन्दु पुग्नुभएको हो। उहाँले बिहीबार मेलाको उद्घाटन समारोहलाई संबोधन गर्नुहुनेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्