०२ असार २०८३, मंगलबार

महिलाले न्यायाधीशलाई यस्तो आरोप लगाउँदा बचाउमा लागे ट्रम्प

असोज ३, २०७५
महिलाले न्यायाधीशलाई यस्तो आरोप लगाउँदा बचाउमा लागे ट्रम्प

वासिङ्टन– अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । 

राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्रेट काभानाघलाई सिफारिस गरेका छन् र उनका सम्बन्धमा अमेरिकी सिनेटको न्यायिक समितिमा हप्तौंदेखि सुनुवाइ भइरहेको छ । आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि नै न्यायाधीश नियुक्ति गरिसक्ने राष्ट्रपति ट्रम्पको योजनामा यस प्रकरणले ठूलो समस्या निम्त्याइरहेको छ । 

आरोप लगाउने महिलाले यौन शोषणका सम्बन्धमा विश्वसनीय आधार प्रस्तुत गर्न सके “हामीले निर्णय गर्नुपर्ने हुन्छ”, राष्ट्रपतिले भनेकाछन् । 

ट्रम्पले काभानाघ एकजना कुशल व्यक्ति रहेको बताउँदै उनबाट कुनै विपरीत कार्य होला भन्ने अनुमान गर्न पनि नसकिने बताए ।  

काभानाघका सम्बन्धमा न्यायिक समितिमा सोमबार सुनुवाइ हुँदैछ । समितिको बैठकमा काभानाघ र यौन शोषण भएको भन्दै खुला चुनौती दिने क्यालिफोर्निया कलेजका प्राध्यापक क्रिस्टाइन ब्लासी फोर्डलाई आआफ्ना तर्क प्रस्तुत गर्न आमन्त्रण गरिएको छ । 

फोर्डको भनाइमा मदिरा सेवन गरेका काभानाघले केही दशकअघि आफूमाथि आक्रमण गरेको आरोप लगाएकी छिन् । 
काभानाघले फोर्डको आरोप अस्वीकार गरेका छन् र काभानाघ आफैंले न्यायिक समिति समक्ष उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्