काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबन्दै रुख कटानको तयारी गरिएको भन्दै सांसदहरुले विरोध जनाएका छन् ।
प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको विशेष समयमा सांसदहरुले डिपीआर नबन्दै रुख कटानको हतारो नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘निजगढ विमानस्थलको विषयमा यसको विरोध मा कोही छैन, प्रश्न प्रबृत्ति र कामगर्ने शैलीको हो । डिपीआर तयार भएको छैन, लागत कति लाग्ने भन्ने तय भएको छैन, लगातीको स्रोत गर्भमै छ । खालि हतार के मा भएको छ भने अर्बौंको रुख कटानी गर्नेमा छ’ त्रिपाठीले संसदमा भने, ‘रुख भन्ने वित्तिकै नेपाली कांग्रेसले आफ्नो चुनाव चिह्न नठान्नु होला, साँच्चिकै रुख हो, वनको रुख । डिपीआर नबनी रुख कटानी गर्ने कुरामा हाम्रो आपत्ति छ ।’
स्रोत नखोजी रुख कटानी गर्दा पछि कव्जा गरेर बस्ती बस्ने काम शुरु हुने भन्दै सांसद त्रिपाठीले स्रोतको लगानी खोजेर मात्र रुख कटानीको काम शुरु गर्न माग गरे ।
संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थल आयोजनाको डीपीआर नै नबनी रुख कटानी गर्ने तयारी गर्नु आपत्तिपूर्ण भएको बताए ।
‘विमानस्थल बन्नुपर्छ, आवश्यक रुख काटिनु पर्छ तर त्यसभन्दा पहिलो डिपीआर बनेर स्रोतको खोजी हुनुपर्छ’ उनले भने । नेपाल सरकारको वातावरण मूल्याङकन प्रतिवेदनमा २४ लाख ५० हजार ८ सय रुख काटनु पर्ने देखिएकोमा ८ लाख रुख काट्ने प्रस्ताव मन्त्रिपरिषद्मा जान लागेको भन्ने बिषयमा उनले सरकारको ध्यानाकर्षण गराए ।