२१ जेठ २०८३, बिहीबार

पेट्रोलियम अभावमा मातृकाको एक्सन– ट्याङ्करको साँचो खोसियो, तेल ढुवानी गर्दै सेनाका चालक

असोज ५, २०७५
पेट्रोलियम अभावमा मातृकाको एक्सन– ट्याङ्करको साँचो खोसियो, तेल ढुवानी गर्दै सेनाका चालक

काठमाडौं – पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गरिरहेका ट्याङ्कर चालकविरुद्ध सरकार कडा रूपमा प्रस्तुत भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले फौजदारी संहितामा असहमति जनाउँदै ढुवानी ठप्प पारेका ट्याङ्करको साँचो थुतेर चलाउन थालेको हो ।

गत बुधवारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकर आन्दोलनमा उत्रेका चालकहरूसँग मन्त्रालयले पटक-पटक वार्ता गरेको थियो । सहमति नजुटेपछि चालकहरूले ढुवानी सुचारु गरेनन् ।

सरकारले दिएको चेतावनी समेत अटेरी गरेपछि शुक्रवार बिहानदेखि मन्त्रालयले चाबी थुत्न शुरू गरेको आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले लोकान्तरलाई जानकारी दिए ।

विष्टका अनुसार मन्त्रालयले अमलेखगञ्ज र भैरहवामा गरी ३० वटाभन्दा बढी ट्याङ्कर नियन्त्रणमा लिई चलाउन शुरू गरिसकेको छ ।

नेपाल प्रहरी र नेपाल आर्मीमा तालिमप्राप्त चालकहरूलाई लिएर मन्त्रालयले पेट्रोलियम पदार्थ ढुवानी गर्न शुरू गरेको छ ।

अहिले करीब साढे १८ सय ट्याङ्करहरूले पेट्रोलियम पदार्थ ढुवानी गरिरहेको छन् । यसमध्ये केहीले मात्रै शुक्रवार बिहानदेखि ढुवानी सुचारु गरेका छन् ।

तेलमा कोटा प्रणाली

यसैबीच सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा प्रणाली लागू गरेको हो । 

मोटरसाइकल, स्कूटरलाई पाँच लिटर, हल्का सवारी साधान कार, भ्यानलाई बढीमा १५ लिटर डिजेलबाट चल्ने सवारीलाई ५० लिटर र लामो दूरीका सवारीसाधनलाई १०० लिटर उपलव्ध गराउन निर्देशन दिएको छ । 

आयात रोकिएसँगै काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा सवारी साधनको लामो लाइन देखिएको छ । नाकाबन्दीको समयमा जस्तै सर्वसाधारण पम्पको अगाडि लाइनमा छन् । 

पेट्रोलियम पदार्थ ढुवानीको मुख्य नाका रक्सौलबाट असोज २ गतेदेखि इन्धन भित्रिन सकेको छैन । आयल निगमसँग इन्धन स्टक गर्ने क्षमता धेरै नहुँदा एक दुई दिनमानै राजधानीमा तेलको हाहाकार पर्न थालेको छ । तर निगमले भने धेरै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ । 

यसैक्रममा आपूर्ति मन्त्रालयले आन्दोलनमा उत्रिएका चालकको साँचो नियन्त्रणमा लिन थालेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्