१० साउन २०८३, आइतबार

एसिड छर्किएकी महिला गम्भीर, भरतपुरमा शल्यक्रिया

एसिड छर्किएकी महिला गम्भीर, भरतपुरमा शल्यक्रिया
प्रतिकात्मक तस्वीर

चितवन– तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो । 

प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ । चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ । 

उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले बताए । परियार राति ८ बजे तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय विमल सिर्पालीले तेजाब छर्किएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार तेजाब छर्केर आक्रमण गर्ने सिर्पाली नेपाली सेनाका भगौडा हुन् । उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेका उनले बिहे गर्न अस्वीकार गरेपछि आक्रमण गरेको प्रारम्भिक बयान दिएको लामिछानेले बताए । विदेशमा रहेका उनी निज परियारसँग बिहे गर्ने भन्दै घर फर्किएको जनाइएको छ । परियारसँगको उनको सम्बन्धका कारण श्रीमतीले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरी माइतमा बस्दै आएको प्रहरीले जनाएको छ । माइतमा बस्दै आएकी श्रीमतीको चार वर्षको बच्चा रहेको छ । 

घाइते परियारको विदेशमा रहेका श्रीमान् फर्किएलगत्तै निज सिर्पालीसँगको सम्बन्ध तोड्न खोजेपछि घटना भएको प्रहरीले जनाएको छ । परियारको ११ वर्षीया छोरी रहेको लामिछानेले बताए । उनीहरू छिमेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्