२५ जेठ २०८३, सोमबार

भूकम्पपछिको पुनर्निर्माणमा वर्षा बाधक, पहिरोका कारण भूकम्पपीडितको घर निर्माण अलपत्र

असोज ९, २०७५
भूकम्पपछिको पुनर्निर्माणमा वर्षा बाधक, पहिरोका कारण भूकम्पपीडितको घर निर्माण अलपत्र
फाइल तस्बिर

गोरखा– वर्षामा गएको पहिरोले सडक भत्किएपछि गोरखाको सिराचोक गाउँपालिका– ४ र ५ का भूकम्पपीडितको घर निर्माणको काम अलपत्र परेको छ । 

सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्न नसक्दा वैशाख महीनादेखि नै घर निर्माण शुरु गरेका सिराचोक गाउँपालिकाका ५९ भन्दा बढी भूकम्पपीडितको घर निर्माण रोकिएको हो । “खहरे खोलाका सडकमा पहिरो गएपछि सामान ढुुवानी गर्न सकिएको छैन”, स्थानीय पीताम्बर पोखरेलले भन्नुभयो, “सडक मर्मत गरी दिन गाउँपालिकालाई पटकपटक आग्रह गरे पनि कुनै सुनुवाइ नहुँदा समस्या भएको छ ।” जेठ महीनामा घर बनाउन शुरु गर्नुभएका उहाँलाई पाँच महीना बितिसक्दा पनि बनाइ सक्ने छाँटकाट नदेखिए पछि पीर पर्न थालको छ । 

ऋण खोजेर दुई कोठे घर बनाउन थाल्नुभएका पोखरेलको घर आधाजसो मात्र सकिएको छ । उहाँलार्ई वर्षाकोे पानीले सडकमा पहिरो गएर सामान ल्याउने बाटो नै अवरुद्ध भएकाले अब कसो गर्ने भन्ने चिन्ता छ । खहरेखोलामा गएको पहिरोले मानिस आउजाउ गर्नसमेत समस्या रहेको उहाँले बताउनुभयो । “इञ्जिनीयर आएर घर छिटो सम्पन्न गर्नुप¥यो भन्छन्, पहिरोले सडक भत्किएपछि घर बनाउने सामान ल्याउन सक्ने अवस्था नै छैन कसरी घर बनाउने रु” उहाँले प्रश्न गर्नुभयो । 

वडा कार्यालयले छिट्टै निर्माण गरिदिन्छौँ भन्ने जवाफ दिने गरेको भए पनि तीन महीना बितिसक्दासमेत भत्किएको सडक मर्मतको काम शुरु नगरेको माझथोकका अर्का भूकम्पपीडित कृष्णप्रसाद पोखरेलको भनाइ छ । वैशाखको पहिलो सातादेखि घर बनाउन थाल्नुभएका उहाँले रड, सिमेन्ट, बालुवालगायतका निर्माण सामग्री ढुवानी गर्न नसक्दा निर्माणको काम रोकिएको हो । “कहिले पैसा भएन, कहिले रड सिमेन्ट पाइएन, ढिलो गरी भए पनि पैसा खोजेर सामानको अडर गरेर आए, फेरि पहिरोले बाटो बन्द भयो”, पोखरेलले भन्नुभयो । दुईकोठाको घर निर्माण शुरु गर्नुभएका पोखरेलले पनि घर निर्माण करीब आधाआधी सक्नुभएको छ । 

सरकारले दिने रु तीन लाख अनुदानले मात्रै नपुग्ने भएपछि ऋण खोजेर घर बनाउन शुरु गर्नुभएका उहाँलाई छिटो घर सक्न पाए ढुक्क हुन्थ्यो भन्ने लागेको बताउनुहुन्छ । 

घर बनाउन ढिलो भएपछि पोखरेलको परिवार अहिले भूकम्पले भत्काएकोे पुरानै घरमा बस्दै आउनुभएको छ । “कोही बाहिर सुत्छौँ, कोही भित्रै सुत्छौँ, नाल दरिलो भएकाले केही हुँदैजस्तो लाग्छ, अहिलेसम्म त केही भएको छैन घर नभएपछि कहाँ बस्न जाने ?” पोखरेलले प्रश्न गर्नुभयो । 

बाटो बन्द भएकाले घर निर्माण गर्न नसक्दा सरकारले दिने भनेको तेस्रो किस्ताको अनुदान रकमसमेत झिक्न नपाएको उहाँको गुनासो छ । “उता बैंकमा आफूले पाउने पैसा पनि भिक्न पाएको छैन, यता ब्याज तिरेर घर बनाउन परेको छ, छिट्ट्रै पहिरो हटाएर घर बनाउन पाए पैसा झिक्न पाइन्थ्यो”, पोखरेलले भन्नुभयो । 

पहिरोको कारण स्थानीय जितबहादुर गुरुङको समस्या पनि उस्तै छ । चैतदेखि नै घर बनाउन शुरु गर्नुभएका गुरुङको अहिलेसम्म घर बनिसकेको छैन । पहिले कामदार नपाएर हैरान भएका ७५ वर्षीय गुरुङ अहिले सामान ढुवानी गर्न नपाएर हैरान छन् । “इँटा ल्याउन नपाएर घरको गारो तुर्न अझै सकेको छैन, ल्याएर राखेको सिमेन्ट बिग्रिसक्यो”, उहाँले भन्नुभयो । एक दुई हप्ताभित्र पनि बाटो नबन्ने हो भने ऋण खोजेर ल्याएको सिमेन्ट फाल्नुपर्ने अवस्था आउने गुरुङ बताउनुहुन्छ । खहरेखोलाको पहिरोले बाटो बन्द हँुदा छोप्राकका वडा नम्बर ४ र ५ का ५९ भन्दा बढी भूकम्पपीडितको घर निर्माणको काम अलपत्र परेको हो । 

माझगाउँ मात्र १२ घर भूकम्पपीडितको बन्दै गरेको घर अधकल्चो भएको छ भने त्यस भेकमा पर्ने आरुबोटेका १२ घर, फिरफिरेका १७ घर, सालबोटेका १८ घर, थामपाटोका छ घरको निर्माण बाटो नबन्दा अलपत्र छ । तीमध्ये कतिपयको घरमा छाना छाउन बाँकी छ भने कतिपयको डिपिसीसम्मको काम सकिएको भूकम्पपीडितको भनाइ छ । 

– दीपक श्रेष्ठ 

salt training

कमेन्ट गर्नुहोस्