
सुर्खेत – दुर्गम बस्तीमा रहेका प्रहरी चौकीको अवस्था कति दयनीय होला भन्ने कुरा कर्णाली प्रदेशको मुटुमा रहेको नगर प्रहरी कार्यालय हेरे पुग्छ ।
पुरानो भवन, बाहिरैबाट हेर्दा पूरै चर्किएको, भित्र हेर्दा प्लास्टर उप्केर पूरै खाल्डाखुल्डी भएको, शौचालयदेखि अन्य कोठा पूरै बिग्रेका ... । वीरेन्द्रनगर नगर प्रहरीको अवस्था यस्तै छ ।
४६ जना बस्दै आएका नगर प्रहरी कार्यालयमा ७ वटा कोठा छन् । सबै भित्ता चर्किएका छन् । बाहिरैबाट हेर्दा पनि भवन चर्किएका देखिन्छन् । अझभित्र भान्सा कोठामा जाने हो भने अवस्था दयनीय छ ।
मंगलवार असोजे झरी परिरहेको थियो । सोही बिहान प्रहरीका भान्सेले तल ग्यासमा दाल पकाउँदै थिए, माथिबाट पानि चुहिँदै थियो । भान्से भने प्लास्टिकको सहाराले चुहिने पानीबाट बच्न हरदम प्रयासमा थिए ।
नगर प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (सई) तेजबहादुर खड्काले आफूलाई राति सुत्न डर लागिरहने बताए । ‘सानै भूकम्प आएको खण्डमा पनि भवन भत्किने खतरा बढेको छ,’ उनले भने, ‘भवन भत्किएको खण्डमा ठूलो क्षति हुन सक्छ ।’
सई खड्काले विभिन्न निकायमा भवन बनाई दिन माग गरेपनि कतैबाट माग सम्वोधन नभएको दुखेसो पोखे । ‘हामीहरू दिनरात नगरवासीको सुरक्षामा खटिएका हुन्छौं,’ उनले भने, ‘तर, केही घण्टा आराम गर्न पाइदा पनि कतै भवन भत्किने पो हो कि भन्ने त्रास मनमा रहिरहन्छ ।’ सम्बन्धित सरोकारवाला निकायले तत्काल भवन बनाइदिएको खण्डमा आफूहरूलाई केही राहत हुने उनको अपेक्षा छ ।