२२ जेठ २०८३, शुक्रबार

श्रम सम्झौता परिमार्जन गर्ने सहमति, भिजिट भिसामा युएई जानेलाई अब अंकुश

श्रम सम्झौता परिमार्जन गर्ने सहमति, भिजिट भिसामा युएई जानेलाई अब अंकुश

काठमाडौं नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच दुवै मुलुकले अधिकतम लाभ प्राप्त गर्न सक्ने गरी श्रम सम्झौता परिमार्जन गर्ने सहमति भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँहरुबीच श्रम सम्झौता परिमार्जन गर्न आवश्यक तयारी गर्ने र छिट्टै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको हो । 

भेटमा मन्त्री विष्टले नेपाली कामदार वैदेशिक रोजगारीमा जाँदा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने वातावरण सिर्जना गर्न युएईसँग आग्रह गर्नुभएको थियो । उहाँले युएईमा कार्यरत नेपाली कामदारको २४ घण्टे बीमा, श्रम करारनामा बमोजिमको न्यूनतम् तलब र अन्य सेवा सुविधाको सुनिश्चित हुनुपर्नेमा समेत जोड दिनुभयो । 

मन्त्री विष्टले निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकको स्वास्थ्य परीक्षण भएकामा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्ने बताउनुभएको थियो । नेपाली कामदारलाई रोजगारीका लागि युएई जाँदा खुशी र गर्वको अनुभूति हुने गरी श्रमिकको सेवा सुविधाका पक्षमा त्यहाँको सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिँदै उहाँले नेपाल र युएईबीचको सम्बन्धलाई मजबुत तुल्याउन निरन्तर समन्वय र द्विपक्षीय छलफल जारी रहनु आवश्यक भएको दोहो¥याउनुभयो । 

भेटमा श्रम स्वीकृति नलिई ‘भिजिट भिसा’ लगायतका माध्यमबाट युएई जाने र काममा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नमा समेत दुवै देशका सरकारको संयुक्त प्रयास हुनुपर्नेमा दुई पक्षबीच सहमति जुटेको श्रम मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

भेटमा राजदूत नाक्बीले भौतिक पूर्वाधारको विकास र आर्थिक समृद्धिसँगै युएई मध्यपूर्वको आर्थिक केन्द्रका रुपमा विकसित हुँदै गएकाले नेपाली कामदारका लागि उपुयक्त श्रम गन्तव्य हुनसक्ने बताउनुभएको थियो । युएई खाडी क्षेत्रका अन्य मुलुकभन्दा पृथक ढङ्गले अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले नेपालबाट दक्ष जनशक्तिको मागसमेत बढ्दै गएको र त्यस्ता जनशक्तिका लागि युएईमा उच्च पारिश्रमिकको अवसर रहेको बताउनुभयो । 

नेपाल सरकारले व्यक्त गरेका चासोप्रति युएई सरकार सकारात्मक रहेको विश्वास दिलाउँदै राजदूत नाक्बीले नेपाल र युएईबीचको श्रम सम्बन्धलाई उदाहरणीय बनाउन दुवै देशका सरकारको प्रयास रहनुपर्ने बताउनुभएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्