
धनगढी – प्रदेश राजधानी सारिएको भन्दै बिहीवार विहानैदेखि धनगढी बजार बन्द गराएको छ ।
आन्दोलनकारीले धनगढीमा आमहड्तालको घोषणा गरिएपछि धनगढी बजार पूरै ठप्प भएको छ भने कलकारखाना, शैक्षिक संस्था, यातायात बन्द समेत बन्द गराइएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा भइरहेको आमहड्तालको क्रममा बन्दकर्ताले बन्द गरिएका एलएन चौंकका केही सटरमा ढुंगामुढा समेत गरेका छन् ।
मंगलबार प्रदेश नम्बर ७ को प्रदेश सभामा नाम र राजधानीबारे सुझाव संकलनको लागि गठित विशेष समितिद्वारा तयार पारिएको प्रतिवेदन पेश गरिएको थियो ।
जुन प्रतिवेदन अनुसार स्थायी राजधानी गोदावरी नगरपालिका–४ तेघरीमा सिफारिएको छ भने नाम सुदूरपश्चिम सिफारिस भएको हो ।
तेघरीस्थित नेपाली सेनाको व्यारेकदेखि उत्तरपश्चिम, गोदावरी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र अत्तरिया बजारदेखि उत्तरतिरको चारकिल्ला भएको क्षेत्र उपयुक्त रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश राजधानी गोदावरी सिफारिस भएपछि स्थानीयहरु हर्षित भएका छन् । राजधानी गोदावरी सिफारिस भएपछि गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँदले सबैलाई बधाई तथा धन्यवाद दिए । उनले स्थायी राजधानीको भौतिक निर्माणदेखि अन्य सबै काममा नगरपालिकाको पूर्ण सहयोग रहने बताए ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त रोकाया ललितले पनि प्रदेशको राजधानी गोदावरीमा प्रस्ताब हुनु स्वागतयोग्य कदम रहेको बताए । उनले प्रदेशको राजधानी यो क्षेत्रमा हुने भएपछि यस क्षेत्रमा अबका दिनमा औधोगिक लगानी पनि बढ्ने बताए ।
नेपाली कांग्रेस गोदावरी नगर समितिका सभापति हेमप्रकाश उप्रेतीले निर्णय स्वागतयोग्य भएपनि अब धनगढी वा गोदावरी हुनुमा खासै फरक नहुने बताए । गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्य प्रेमराज भण्डारीले निर्णयको स्वागत गरे ।
धनगढी र गोदावरीस्थित राजधानी तोकिएको स्थानको दूरी १७ किलोमिटर रहेको छ ।