‘थेगोले पनि मान्छेलाई चर्चित बनाउने रैछ है?’
‘रैछ त नि,’ पौडेल हाँसे ।
सात वर्ष लामो अमेरिका बसाईंपछि फेरि नेपाल फर्केर कलाकारितामै रमाएका हास्यकलाकार राजाराम पौडेललाई दर्शकले बिर्सन लागिसकेका थिए । दश वर्षमा उनका केटाकेटी दर्शक अब युवा भइसकेका थिए । तर उनलाई आफ्नो उही पुरानो थेगोले सानो पर्दामा कमब्याक गरायो ।
‘दर्शकले मलाई अझै भुलिसक्नुभएको रहेनछ,’ उनी मुस्कुराउँदै सुनाउँछन् ।
टेलिचलचित्र ‘जिरे खुर्सानी’ मा ‘परेको म बेहोरौंला’ थेगोबाट चर्चित बनेका पौडेललाई थेगो भने त्यति मन पर्दैनथ्यो । कार्यक्रमका निर्देशक जितु नेपालले थेगो बोल्न भन्दा पनि उनले नबोलौं कि भन्ने धारणा बनाएका थिए । नेपालले राम्रो छ भनेपछि उनले थेगो बोल्न थाले । पछि त्यही थेगो उनको परिचय बन्यो ।
त्यतिबेला नेपालमा त्यति धेरै चलचित्र पनि बन्दैनथे । न त नेपालमा टिभी नै भित्रिएको थियो । काठमाडौंको नक्सालमा जन्मिएर यतै हुर्केका पौडेललाई कलाकारिताको ‘भूत’ कसरी चढ्यो भन्ने उनलाई पनि थाहा छैन ।
‘सानोदेखि नै अभिनय गर्ने रुचि थियो,’ उनी भन्छन्, ‘मैले बच्चैदेखि नै कला बोकेर आएको रहेछु कि भन्ने लाग्छ ।’
त्यतिबेला नेपालमा कलाकारिता गरेर बाँच्न सक्ने स्थिति बनेपनि उनले भने कलाकारितासँगै मेडिसिन पनि पढे । पछि सरकारी जागिरे बने । इपिडिइयोमोलोजी अन्तर्गत विभिन्न जिल्लामा रेस्क्युको लागि जान्थे ।
त्यो पनि एक जमाना थियो । उनी कलाकारितामा लागिसकेपछि देश तथा विदेश पनि कार्यक्रम गर्न जानुपर्ने हुन्थ्यो । एकपटक उनी कार्यक्रम लगेर अमेरिका गएका थिए । त्यहाँ भएका नेपालीको स्नेह त उस्तै लोभलाग्दो थियो नै । विदेशमा भएका नेपालीले नेपालप्रतिको मोहलाई पनि उस्तै माया गर्थे ।
‘सन् १९९० मा कार्यक्रमका लागि अमेरिका जाँदा नेपाली पत्रिका ल्याउनुभएको छैन भनेर सोध्नुहुन्थ्यो ।’ उनी भन्छन्, ‘उहाँहरूलाई नेपाली अक्षर पढ्न त्यति धेरै रहर लाग्दो रहेछ । हामीलाई थाहै भएन ।’
महजोडीको हास्य शृंखला ‘पन्ध्र गते’ ले उनलाई रातारात चिनायो । उनको त्यसमा गरेको अभिनयको प्रशंसा भयो । ‘अहिले पनि त्यो शृंंखला हेरेर कतिले मलाई प्रतिक्रिया दिइरहनुहुन्छ ।’ उनी मुस्कुराउँदै भन्छन्, ‘त्यसपछि मैले कति धेरै चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरें तर मसँग अझै पनि दर्शकले त्यही सिरियलको कुरा गरिरहनुहुन्छ ।’
‘हुन त मेरो बानी काम गर्ने अनि पैसा लिने डकर्मीको जस्तै हो । गन्ने नै हो भने डेढ सय चलचित्र र तीन सयभन्दा बढी सिरियलमा अभिनय गरियो होला,’ आफूलाई ठ्याक्कै थाहा नभए पनि उनी यसरी सम्झिन्छन् आफ्नो अभिनय यात्रा ।
लगभग २४ स्वास्थ्य सेवामा सरकारी जागिरे भएर बिताएपछि उनले अमेरिका हानिने मनसाय बनाए । ‘कोही नेपाली पनि आफ्नो परिवार, संस्कृति छोडेर विदेश जान चाहन्नन् । यो त आमनेपालीको बाध्यता हो,’ उनी प्रस्ट पार्छन् ।
यति लामो अमेरिका बसाईंमा पनि उनले नेपाली कला क्षेत्रलाई चटक्कै माया मारेका भने थिएनन् । अमेरिकामा हुँदा पनि नेपालीबीच विभिन्न कार्यक्रम तथा प्रहसन गरिरहन्थे । त्यसो त एक हुल नेपाली कलाकार अझै पनि अमेरिकामा नै रमाइरहेका छन् ।
पहिला पनि नेपालको हालत राम्रो थिएन । राजनीतिक अस्थिरताको तुसारो नेपालभरि नै लागेको थियो । अर्कोतिर राजनीतिकर्मीले विरोध गर्नु नै बन्द भन्ने मान्यता अनुरूप सधैं नेपाल बन्द गर्थे ।
पछिल्लो अराजक राजनीतिबाट आजित भएपनि केही आशा भने उनमा छ । भन्छन्, ‘अहिले भने केही साम्य भएको छ । जनताले नेपाल बन्दलाई नै टेर्न छोडिसके ।’
देशको प्रतिकूल माहोलमा बाबजुद उनको चित्त बुझाउन एउटा सामान्य सरकारी जागिरको साथमा समाजमा परिचित नाम पनि थियो ।
‘तर नामले मेरा छोराछोरीको स्कूलको फी तिर्न नमिल्ने रैछ,’ उनी त्यतिबेलाको परिस्थिति सुनाउँछन् ।
‘छोराछोरी बढ्दै गएपछि जिम्मेवारी पनि बढ्दै जाँदो रहेछ । त्यसबेलामा त आफ्ना बच्चाबच्चीको नेपालमा भविष्य नै थिएन ।’
अनि उनी भासिए अमेरिकातिर । अमेरिकी जिन्दगी यहाँको जस्तो सरल भने थिएन । आफ्नै साथीसँग भेट्न पनि महिनौं अघि योजना बनाउनुपर्थ्यो । कतिपटक त फोनबाट कार्यक्रमको रिहर्सल गरेर स्टेजमा कार्यक्रम चलाएको अनुभव पनि छ उनीसँग । ‘यहाँ पो भेटौं, गफ गरौं भन्ने सम्भव छ । उता त समय नै नहुने । दूरीको हिसाबले पनि टाढा पर्ने ।’
काठमाडौंमा बुङबुङ उडिरहने धूलो भएपनि पौडेललाई नेपालको मायाले नराम्रोसँग अत्यायो । ‘त्यसो त मैले जम्मा दुई वर्षका लागि नेपाल छोडेको थिएँ । तर के के नमिल्दा वर्षौं बित्यो ।’
अन्ततः उनी नेपाल फर्किने योजना बनाए । ‘नेपाल फर्किने बाटो बनाएको चाहिँ मैले हो है,’ लामो हाँस्दै उनी भन्छन्, ‘मैले आउने बेलामा भनेको थिएँ म नेपाल फर्किने गोरेटो बाटो बनाउँदैछु । तपार्इंहरू पक्की बाटो बनाएर आउनुस् ।’
‘हो नि ! म फर्केपछि सरोज खनाल पनि फर्किनुभो । अब बिस्तारै अरू नेपाली पनि फर्किनुहुन्छ । नेपाललाई बनाउने हामीले नै हो ।’
‘काठमाडौंको धूलो त आफ्नै देशको धूलो,’ उनी यसो भन्दै हाँस्छन् । उनको हाँसोमा भावनात्मक खुसी प्रस्ट देखिन्छ ।