१३ असार २०८३, शनिबार

प्रशान्त महासागरमा  ४७ यात्रु सवार विमान खस्यो

असोज १२, २०७५
प्रशान्त महासागरमा  ४७ यात्रु सवार विमान खस्यो

वेलिङ्टन- प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्यू गिनी (पिएनजी)को एउटा हवाइजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवाइ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा खसेको थियो । 

पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुङ्गाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । विमानमा यात्रु र चालक दलका सदस्यसहित ४७ जना सवार थिए । 

विमानमा यात्रारत एकजना यात्रुले पानीमा डुब्दै गरेको जहाजभित्र पानी पस्न थालेपछि विमानका कर्मचारी र यात्रुहरु आपतकालीन ढोकाबाट बाहिर निस्केको बताए । 

स्थानीय डुङ्गाहरुले विमानमा रहेका सबै ४७ जनाको उद्धारका लागि सहयोग गरेका थिए । यो बिमान माइक्रोनेसियाली द्वीपको चूक आइल्यान्ड (द्वीप) मा अवतरण गर्न लागेको थियो । 

बिमानका एक यात्रु बिल जेनेसले एयर न्यूजिनी बिमान धेरै तलबाट उडेको बताउनुभयो । “मैले बिमान यति तलबाट उडेकामा आश्चर्य मान्दै थिएँ । पानीमा झर्नासाथ बिमानको माथिल्लो भागबाट पानी भित्र पस्न थालेको थियो ।” 

जेनेसले डुब्दै गरेको बिमानको आपतकालीन ढोकाबाट बाहिर निस्केर पानीमा हाम फालेको बताउनुभयो । आफूलाई सामान्य चोट लागेको बताउँदै जेनेसले बिमानमा सवार पत्नी पनि चिच्याइरहेको जानकारी दिनुभयो । 

यो दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन । बिमान कम्पनीले हवाइजहाज बिमानस्थलमा उत्रनुअघि नै बिमान पानीमा झरेको जानकारी दिएको छ । जेनेसले धावनमार्गमा छोएर पानीमा झरेको बताउनुभयो । 

उक्त हवाइजहाज ३० मिटरजति पानीमा डुबेको थियो । बिमान डुब्नुअघि सबै मानिसलाई उद्धार गरिएको थियो । 
सन् २००९ मा अमेरिकाको न्यूयोर्कमा पनि एउटा बिमान हड्सन नदीमा खसेको थियो, तर बिमानका यात्रुलाई हवाइजहाज डुब्नुअघि नै उद्धार गरिएको थियो । यो घटनालाई “हड्सनको चमत्कार” पनि भनिन्छ । 

बिमान कम्पनीका अनुसार बोइङ ७३७ बिमानमा ३५ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए । कम्पनीले बिमान अवतरण गर्नेक्रममा मौसम राम्रो नभएको, ठूलो पानी परेको र दृश्यता (भिजिबिलिटी) कम रहेको जनाएको छ । 

एयर न्यूगिनी पपुआ न्यू गिनीको राष्ट्रिय ध्वजाबाहक बिमान हो । यो कम्पनीले हालैका दिनहरुमा मनिला, सिड्नी र सिंगापुरमा पनि उडान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्