०३ साउन २०८३, आइतबार

रक्सीको लतमा फसेका पतिलाई नेपाल फर्काउन मलेसिया गएकी डोल्मा शव लिएर फर्किइन्

असोज १३, २०७५
रक्सीको लतमा फसेका पतिलाई नेपाल फर्काउन मलेसिया गएकी डोल्मा शव लिएर फर्किइन्

काठमाडौं–त्रिभुवन विमानस्थलमा बिहीबार एकै दिन ५ वटा शव आइपुगे । चारवटा मलेसियाबाट आएका थिए भने एउटा कतारबाट । वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी ५ मध्ये एक जना थिए, आइतसिंह गोले ।


मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ नेपालीमध्ये आइतसिंह एक थिए । ८ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि डोल्मामाया गोले आफैं ४ वर्षअघि त्यहाँ गएकी थिइन् । हिरापुर–९ सर्लाहीका आइतसिंह अवैध कामदारका रूपमा बसेका थिए भने डोल्मा वैध बाटोबाट गएकी थिइन् । केहीअघि नेपाल फर्किएकी डोल्मा एक महिनाअघि फेरि मलेसिया पुगेकी थिइन् ।


‘आइतबार बिदाको दिन थियो । बाहिरै मदिरा पिएर बेलुका कोठामा आउनुभएको थियो । त्यो दिन खासै केही भएन,’ त्रिभुवन विमानस्थलमा डोल्माले भनिन्, ‘सोमबार ड्युटी गएर फर्किनुभएको थियो । म ड्युटीबाट कोठामा आउँदा एकदमै स्याँस्याँ गरिराख्नुभएको रहेछ । मैले औषधि लिएर आए । तुरुन्तै अस्पताल लिएर जाने अवस्था थिएन । अवैध रूपमा बसिरहेकाले उहाँ पनि जान मान्नुभएन । विषालु मदिरा शरीरमा फैलिँदै गएछ । मंगलबार बिहान म ड्युटी गएँ । कोठाबाट ५ मिनेटमा हिँडेर कम्पनी पुगिन्थ्यो । उहाँ आराम गर्छु भन्दै कोठामै बस्नुभयो । दिउँसो आँखा देख्न छोड्नुभएछ । दम पनि बढेछ । छिमेकी भाइले फोन गरेर बोलाएपछि म गएँ । उहाँ निकै गलिसक्नुभएको थियो । नजिकैको क्लिनिकमा लिएर गएँ । क्लिनिकले एम्बुलेन्स बोलाएर अस्पताल पठाइदियो । अस्पताल पुग्दा उहाँको ज्यान गइसकेको थियो ।’


आइतसिंह आफू गएको कम्पनी छाडेर बसेका थिए । उनले घरमा नियमित पैसा पठाउन पनि छोडेका थिए । उनीहरूका तीन छोराछारी छन् । ‘पतिले पैसा नपठाएपछि उनीहरूलाई हुर्काउन, पढाउन गाह्रो भयो, उहाँले धेरै रक्सी खान थाल्नु भएछ । थाहा पाएपछि बच्चाहरूलाई बहिनीको जिम्मा लगाएर श्रीमान्लाई सपार्न र फर्काउन आफैं मलेसिया गएँ,’ डोल्माले भनिन्, ‘रक्सी खान कम भइसकेको थियो । कहाँबाट विषाक्त रक्सी भेट्नुभयो, थाहै भएन ।’


शव ल्याउन पनि कठिन भयो । ‘शव ल्याउन जहाजमा ३३ सय रिंगेट लाग्यो । मेरो टिकटको २२ सय,’ डोल्माले भनिन्, ‘म काम गर्ने कम्पनीमा झन्डै ३ सय नेपाली छन् । उनीहरूले सहयोग गरे ।’


गोले दम्पतीका १७ र १५ वर्षका छोरी छन्, छोरा १० वर्षका । सर्लाही लगेर श्रीमान्को अन्त्येष्टि गरेपछि डोल्मा फेरि मलेसिया जाने योजनामा छिन् । ‘कम्पनीले २५ दिनको बिदा दिएको छ । श्रीमान्को काम सकेपछि मलेसिया फर्किन्छु । बच्चाहरूको जिम्मेवारी मेरै काँधमा छ,’ उनले भनिन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्