१० साउन २०८३, आइतबार

सरकार र अदालतलाई अवैधधन्दा सञ्चालकको ठाडो चुनौती, गैरकानूनी कामलाई निरन्तरता

असोज १४, २०७५
सरकार र अदालतलाई अवैधधन्दा सञ्चालकको ठाडो चुनौती, गैरकानूनी कामलाई निरन्तरता

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–१० स्थित जानकी मन्दिरको छेउमै रघुपति मिष्टान्न भण्डार र ओम बेकरी स्वीट्स कोर्नर पसल वर्षौदेखि सञ्चालित छ । स्थानीय दशरथ साह र उनका छोरा सन्तोष साहले पसल सञ्चालन गर्दै आएका छन् ।

दशरथ साह होटेल व्यवसायी संघ धनुषाका अध्यक्ष पनि हुन् । जनकपुरको बीच शहरमै जानकी मन्दिर वरपर नै उनको कतिपय बहुमुल्य जग्गा छन् । जनकपुरका धनाढ्य व्यक्तिको सूचीमा उनी पनि गर्छन् ।

तर, उनी कानूनलाई खुल्लम्खुल्ला चुनौती दिन पछि पर्दैनन् । आफ्नो आर्थिक स्वार्थ पूरा गर्नका लागि समाजमा अरुलाई आफ्नो कामबाट असर परेपनि उनलाई खासै मतलब हुँदैन ।

उनी कानूनभन्दा पनि शक्तिशाली देखिने गरेका कारण सरकारी निकायले दिएको आदेश पालना गर्नु त कहाँ हो कहाँ, अदालतले दिएको आदेशको समेत पालना गर्नुपर्ने बाध्यता उनलाई देखिँदैन ।

मिठाई पसलबाट केही पर देवी चोकस्थित निजी जग्गामा उनले मिठाईदेखि अन्य परिकार बनाउन भान्सा सहितको कारखाना १५ वर्षदेखि सञ्चालन गर्दै आएका छन् । उनले एलपी ग्यासको प्रयोग नगरेर काठ दाउरा नै भान्सामा प्रयोग गर्दै आएका छन् । कारखानामा दाउराको प्रयोग गर्दा निस्कने धुँवाका कारण स्थानीय वासिन्दा प्रभावित हुँदै आएका छन् । कारखानाबाट निस्कने फोहोर समेतको उचित व्यवस्थापन नगरेर कारखानासँगै रहेका स्थानीयको जग्गाकै छेउमा थुपार्ने गरेका छन् ।

धुँवा र फोहोरसहित मिठाई बनाउँदा निष्काशित फोहोर, रसायनयुक्त पानीका कारण ढलमा समेत कीरा रहने गरेका कारण पनि स्थानीयको जनजीवनमा प्रतिकूल प्रभाव परिरहेको छ । स्थानीय प्रमोदकुमार कर्णले भने, ‘कारखानाबाट निस्कने धुँवा सीधा हाम्रो घरमा जान्छ, दिनरात धुँवा घरमै जाने हुँदा घर परिवारका सबै सदस्य नियमित रूपमा बिरामी परिरहेका छन् ।’ परिवारका सबै सदस्यको आँखा तथा श्वासप्रश्वासमा गम्भीर असर परेको मेडिकल रिपोर्ट रहेको कर्णले बताए ।

कर्णसँगै स्थानीय हिरानन्द लाल कर्ण, कुमुदिन देवी लाभ, नन्द किशोर मण्डल, जितेन्द्र प्रसाद साह, हरि किशोर लाभ, राम किशोर साह, नरेश लाभ लगायतका घरमा त्यसको प्रतिकूल असर पर्दा धुँवारहित चुल्होको व्यवस्था गर्दै प्रदूषणरहित कारखाना बनाउन सञ्चालक दशरथ साहलाई स्थानीयले पटक–पटक अनुरोध गरे ।

वडाध्यक्ष समेत रहेका मिथिलेश लाल कर्णले भने, ‘वडाध्यक्ष हुनुअघि म सूचिकृत मेलमिलापकर्ता पनि भएकाले पटक–पटक प्रदूषणमुक्त कारखाना बनाउन स्थानीय स्तरमा सबैले अनुरोध गर्यौं । तर, भोलि गर्छु, पर्सी गर्छु भन्दै सधैं समय लिने तर, त्यसको व्यवस्थापन गरिएको छैन ।’

करीब १५ वर्षदेखि प्रभावित स्थानीयले ‘अनाधिकृत रूपमा सञ्चालित कारखानाले प्रदूषण फैलाउनुका साथै फोहोर रसायनयुक्त प्रदूषित पानी जग्गामा बगाएकाले अबिलम्ब रोकेर कारखाना बन्द गराई आवश्यक कारबाही गरी पाउँ’ भन्दै २०७४ फागुन २९ गते घरेलु तथा साना उद्योग कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

त्यसपछि कार्यालयले कर्मचारी सहितको टोली चैत्र ८ गते स्थलगत निरीक्षणका लागि खटायो । स्थलगत निरीक्षण गर्दा होटेलमा प्रयोग हुने मिठाई, खाना, नास्ता लगायतका बेकरीका सामान पसलमा उत्पादन नभएर अन्य ठाउँमा दर्ता नै नभएको स्थानमा उत्पादन भइरहेको प्रतिवेदन टोलीका प्रतिनिधिले कार्यालयमा पेश गरे ।

चैत्र १२ गते कारखाना बन्द गर्न कार्यालयले सञ्चालक दशरथ साहलाई पत्रमार्फत् निर्देशन गरेको थियो । रघुपति मिष्टान्न भण्डार तथा ओम बेकरी एण्ड स्वीट्स कर्नरमा प्रयोग हुने मिठाई, खाना, नास्ता तथा बेकरीका सामान इजाजत पाएको स्थानमा उत्पादन नगरी अनाधिकृत रूपमा अन्य ठाउँमा कारखाना स्थापना गरी उत्पादन गरिरहेको पत्रमा लेखिएको छ । 

‘कारखानाबाट निस्कने धुँवा तथा फोहोरबाट त्यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा उक्त कारखाना इजाजत प्राप्त गरेको स्थानमा तुरुन्त स्थानान्तरण गरी हाल सञ्चालनमा रहेको कारखाना अबिलम्ब बन्द गर्न हुन जानकारी गराइन्छ,’ घरेलु तथा साना उद्योग कार्यालय धनुषाबाट जारी गरिएको पत्रमा उल्लेख छ ।

पत्र सहितको निर्देशन जारी भएपनि होटेल सञ्चालक साहले भने त्यसलाई कुनै वास्ता गरेनन् । कारखाना सञ्चालन गरि नै रहे । कार्यालयले होटेल सम्बन्धमा दर्ता भए÷नभएको कुरा पनि छानबिन गर्दा दशरथ साहले सञ्चालन गर्दै आएको रघुपति मिष्टान्न भण्डार घरेलुमा दर्ता नै नगरी अवैध रूपमा सञ्चालनमा रहेको पाइयो । 

उनका छोरा सन्तोषले सञ्चालन गरेको ओम स्वीट्स घरेलुमा दर्ता रहेपनि दशरथले सञ्चालन गरेको रघुपति दर्ता नभएको पाइएपछि दर्ता गर्न घरेलु कार्यालयले पटक–पटक पत्राचार गर्दा पनि हालसम्म दर्ता गरिएको छैन । अवैध कारखाना बन्द नभएपछि स्थानीय प्रमोद कुमार कर्णले जिल्ला प्रशासन कार्यालय धनुषा समेतलाई विपक्षी बनाउँदै उच्च अदालत जनकपुरमा परमादेशको रिट दर्ता गरायो ।

२०७५ असोज १ गते उच्च अदालत जनकपुरका न्यायाधीश डा. रवि शर्मा अर्यालको इजलासले पनि तत्काल कारखाना सञ्चालन नगर्न, नगराउन भनि अन्तरिम आदेश जारी गर्यो । उद्योगका लागि आवश्यक सामान उत्पादन गर्न इजाजत पाएको स्थानमा उत्पादन नगरी अनधिकृत रूपमा अर्को क्षेत्रमा उत्पादन गर्नाले कारखानाबाट निस्कने धुँवा तथा फोहोरबाट त्यस क्षेत्रका सर्वसाधारणको नेपालको संविधान बमोजिम प्राप्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकमा असर परेको आदेशमा लेखिएको छ । 

स्थानीय वासिन्दाको स्वच्छ वातावरणमा बाँच्न पाउने हक र सो कारणले पर्ने वातावरणीय असर समेतलाई मध्यनजर गर्दै कारखानाबाट निस्केको धुँवा र प्रदूषित पानी एवं फोहोरले स्थानीय व्यक्तिको स्वास्थ्यमा तथा श्वासप्रश्वासमा समेत नकारात्मक असर परेको देखिएकाले निवेदनको टुंगो नलागेसम्म कानून बमोजिम तोकिएको स्थानबाहेक उक्त स्थानमा कारखाना सञ्चालन नगर्नु भनी आदेश गरिएको थियो ।

असोज २ गते नै अदालतको आदेशको प्रतिलिपिसहित १५ दिने म्याद पूर्जी जारी गरिएको थियो । वडाध्यक्ष मिथिलेश लाल कर्णले भने, ‘मेरै रोहबरमा अदालतको म्याद पूर्जी होटेल सञ्चालकको घरमा टाँस गरिएको हो ।’ तर, कारखाना सञ्चालनमा नै रहेको छ । असोज १२ गते लोकान्तर प्रतिनिधि कारखानामा पुग्दा मिठाई तथा खाजा बनि नै रहेको, धुँवा बाहिर निस्केर अन्य व्यक्तिको घरमा गइरहेको पाइएको थियो ।

होटल सञ्चालक दशरथ साह भन्छन्, ‘मेरो आफ्नो पनि निवास त त्यहीँ छ, हामीलाई त केही प्रतिकूल असर परेको छैन भने उनीहरूलाई कसरी असर पर्यो ? केही उपद्रवीले मेरोविरुद्ध उपद्रव गरेका छन्, रह्यो कारखाना सञ्चालनको कुरा त जनकपुरमा कुनै पनि होटेल तथा मिठाई पसल सञ्चालकले होटलमै कारखाना सञ्चालन गरेका छैनन्, सबैले अन्यत्र स्थानमै सञ्चालन गरेका छन् । कसैको पनि कारखाना वैध छैन, मेरो पनि वैध छैन ।’

मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय मान्ने साहले बताए । अदालतको अन्तरिम आदेश जारी भएपनि कारखाना सञ्चालन नै रहेको छ नि भन्ने प्रश्नमा साहले भने, ‘कारखाना नै त त्यो होइन, भान्सा घर हो, केही मात्रामा मिठाई तथा नास्ता बन्ने गरेको छ । त्यसले कसैलाई केही असर गरेको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्