
बुटवल – सरकारले यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य गरी प्रा.लि.मा लैजाने निर्णय गरेसँगै स्तरीय यातायात सेवा दिँदै आइरहेको सिद्धार्थ यातायात प्रा.लि.ले दशैँको मुखमा सरकारले बढाएको दश प्रतिशत भाडा लागू नगर्ने जनाएको छ ।
चाडपर्वको मौका छोपेर हरेक क्षेत्रले उपभोक्तालाई महङ्गीको मारमा पार्ने भन्दै प्रा.लि.ले दशैंको बेलामा आफ्ना सबै सवारी साधनमा भाडा यथावत राख्ने निर्णय भएको प्रा.लि.का अध्यक्ष सूर्यकुमार सारु मगरले बताए ।
पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात व्यवसायी समितिलगायत समितिले भने सरकार र व्यवसायीबीच भएको सहमतिअनुसार बढाएर भाडा लिन थालेका छन् ।
आफूहरूको उद्देश्य नाफा कमाउने मात्र नभएर यात्रुलाई स्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने भएकोले प्रा.लि.ले तत्काललाई भाडा नबढाउने निर्णय गरेको अध्यक्ष सारुले बताए ।
यस्तै हरेक वर्ष दशैंतिहारको बेला भारतबाट नेपाल आउने नेपाली सिमानाका लुटिने घटनालाई मद्देनजर गर्दै कारणवश लुटिएर बेखर्ची भएका व्यक्तिलाई गन्तव्यसम्म नि:शुल्क पुर्याउने व्यवस्था समेत मिलाउने निर्णय पनि गरेको छ ।
प्रा.लि.ले सञ्चालन गरेको बस सेवालाई यात्रुमैत्री बनाउने र सहज यात्रा गराउने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष सारुले बताए ।
सुरक्षित यात्राका लागि आफ्ना कर्मचारीलाई समय समयमा ट्राफिक नियमबारे जानकारी दिँदै आइरहेको प्रा.लि.ले यात्रुलाई गर्ने सम्मान र सत्कारको बारेमा समेत सचेत बनाउँदै तालिम दिइरहेको छ ।
प्रा.लि.ले बुटवल भैरहवा रुटमा स्तरीय वातावरणअनुकुलका एसी बस सञ्चालन गर्ने तयारी गरेको छ । बस छिट्टै सञ्चालनमा आउने तयारीमा रहेको अध्यक्ष सारुले बताए ।