
धनगढी– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि धनगढीमा आक्रमण भएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाढीमाथि आक्रमण भएको हो ।
आइतवार काठमाडौंबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालयमा जाने क्रममा आक्रमण भएको हो ।
एयरपोर्टबाट कार्यालय जान लागेका केसी चढेको बा १ झ ९७०३ नम्बरको गाडीमाथि पछाडिबाट आाक्रमण भएको हो । ‘म चढेको गाडीको विपरित दिशाबाट मोटरसाइकलमा आएका दुईजनाले गाडीको पछाडि गएर ढुंगा हानेका हुन्,’ केसीले लोकान्तरसँगको कुराकानीमा भने, ‘गाडीको सिसा फुटेर लागेपनि चोट लागेको छैन ।’
केसी गाडीको बीचको सिटमा बसेका थिए । अगाडि एकजना सुरक्षाकर्मी थिए भने उनीसँगै मन्त्रालय एक अर्का कर्मचारी पनि थिए ।