
बुटवल– केन्द्रीय तथ्यांक विभाग र मानव विकास प्रतिवेदनका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा योगदान र प्रतिव्यक्ति आयमा प्रदेश ५ देशभरीकै चौंथो स्थानमा रहेको छ । पहिलो नम्बरमा भने प्रदेश ३ रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।
नेपाल राष्ट्र बैंक केन्द्रीय अनुसन्धान विभागले आइतबार बुटवलमा आयोजना गरेको संघीय संरचनामा आर्थिक गतिविधि विषयक कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकमा प्रदेश ५ प्रादेशिक योगदानका आधारमा चौंथो नम्बरमा रहेको देखाइएको हो ।
यो केन्द्रीय तथ्यांक विभाग र मानव विकास प्रतिवेदन २०१४ को आधारमा आर्थिक वर्ष ०७४÷०७५ को प्रदेशिक कुल गार्हस्थ्य उत्पादन र प्रति व्यक्ति आय गणना गरिएको राष्ट्र बैंक केन्द्रीय अनुसन्धान विभागले जनाएको छ ।
प्रदेश सरकारले प्रादेशिक वित्तीय आयोगमार्फत सबै पालिका तहको विस्तृत अध्ययन हुनु पर्ने कुरा उठाउँदै आएको छ । अहिले राजनीतिक संघीयता कायम भएपनि वित्तीय र प्रादेशिक संघीयता कायम हुन सकिरहेको छैन । यहीँ बेलामा प्रदेश तहको सुझाव संकलनका लागि राष्ट्र बैंक केन्द्रीय अनुसन्धान विभाग बुटवलमा आएको हो ।
राष्ट्र बैंकले क्षेत्रीय कार्यालयहरुमार्फत र स्थानीय स्तरमा स्थलगत भ्रमण गरी कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, बैंकिङ्ग आदि विषयको शूक्ष्म तरिकाले विवरण संकलन गरी आर्थिक अवस्थाको आकलन गर्नुका साथै आर्थिक वृद्धिको प्रक्षेपण गर्दै आएको छ । सोही प्रक्षेपणका आधारमा कुल गार्हस्थ्य उत्पादनको प्रदेशगत अंश र प्रतिव्यक्ति आय सार्वजनिक गरिएको हो । राष्ट्र बैंकले यसैका आधारमा संघीय संरचनाअनुसारका आर्थिक गतिविधि समेटिने गरी आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७० परिमार्जन गर्दै प्रदेशगत आर्थिक प्रतिवेदन तयार गर्ने छ ।
प्रदेश सरकारले उपलव्ध गराउने आफ्नो क्षेत्रको आर्थिक गतिविधिसम्बन्धी तथ्याङ्कका आधारमा राष्ट्र बैंकले एकीकृत प्रतिवेदन तयार गर्ने कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । ७५३ स्थानीय तहहरुलाई आधार बनाएर नमूना स्थानीय तहहरु छनौट गरी नयाँ तरिकाले तथ्याङ्क संकलनको काम पनि भइरहेको निर्देशक थापाले बताए ।
संघीय संरचनामा आर्थिक गतिविधि अध्ययनअनुसार ७ प्रदेशमध्ये प्रदेश पहिलो नम्बरमा प्रदेश ३ छ । यहाँको कुल गार्हस्थ्य उत्पादन ३१ दशमलव ९ रहेको छ भने प्रतिव्यक्ति आय एक हजार पाँच सय ३४ अमेरिकी डलर रहेको छ । सबैभन्दा कम योगदान कर्णाली प्रदेशको रहेको छ । कर्णाली प्रदेशको ४.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । कर्णाली प्रदेशको प्रतिव्यक्ति आय भने प्रदेश ७ को भन्दा केही धेरै छ । प्रतिव्यक्ति आयमा सबैभन्दा कम प्रदेश ७ रहेको छ । यहाँ छ सय ६० अमेरिकी डलर प्रतिव्यक्ति आय छ ।
दोस्रोमा प्रदेश १ को १७.५ प्रतिशत, तेस्रोमा प्रदेश २ को १६.२ प्रतिशत योगदान रहेको तथ्यांकले देखाएको छ । यस्तै चौंथोमा प्रदेश ५ को १३.४ प्रतिशत योगदान रहेको छ । यहाँको प्रतिव्यक्ति आय आठ सय ६८ अमेरिकी डलर रहेको छ । पाँचौं स्थानमा गण्डकी प्रदेशकोे १०.५ प्रतिशत, छैठौं स्थानमा प्रदेश ७ को ६.३ प्रतिशत छ । यस्तै वार्षिक प्रतिव्यक्ति आयका हिसावले पनि प्रदेश ३ नै पहिलो नम्बरमा छ । प्रदेश ३ का नागरिकको प्रतिव्यक्ति आय एक हजार ५३४, दोस्रोमा प्रदेश १ को एक हजार २४, तेस्रोमा प्रदेश ४ को एक हजार २१ अमेरिकी डलर रहेको छ । पाँचौं स्थानमा प्रदेश २ को ७९९, छैठौंमा कर्णाली प्रदेशको ६७७ र सबैभन्दा कम आय प्रदेश ७ को ६६० अमेरिकी डलर रहेको छ ।
बैंकिङ्क पहुँचमा प्रदेश ५ पहिलो
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशगत रुपमा स्थानीय तहहरुमा वाणिजय बैंकको पहुँचमा प्रदेश ५ सबैभन्दा अगाडि रहेको छ । प्रदेश ५ का १०९ स्थानीय तहमध्ये ३ वटा तहमा मात्रै वाणिज्य बैंक पुग्न सकेका छैनन् । प्रदेश ७ मा सबैभन्दा बढी २३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् । कर्णाली प्रदेशका २० स्थानीय तहमा, प्रदेश १ का १९ स्थानीय तहमा, प्रदेश ३ का ११ तहमा, प्रदेश २ का ६ तहमा र प्रदेश ४ का ५ तहमा बाणिज्य बैंक अझै पुग्न सकेका छैनन् । सातै प्रदेशका कुल ८७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय पुग्न नसकेको तथ्यांकमा देखिएको छ ।
कृषि उत्पादनमा पनि प्रदेश ५ बलियो
राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेश ५ ले कुल कृषि क्षेत्रको उत्मपादनमा १६.९ प्रतिशत, कुल उद्योग क्षेत्रको उत्पादनमा १०.४ प्रतिशत र कुल सेवा क्षेत्रको उत्पादनमा ११.७ प्रतिशत अंश योगदान गरेको छ । देशको कुल जनसंख्याको १५.५ प्रतिशत हिस्सा (४१ लाख १४ हजार १ सय ४८) प्रदेश ५ मा रहेको छ । देशको कुल क्षेत्रफल मध्ये प्रदेश ५ ले ११.८ प्रतिशत हिस्सा ओगटेको छ भने यो प्रदेशको जनघनत्व प्रति वर्ग किलोमिटर २३८ रहेको छ । प्रदेश ५ को कुल क्षेत्रफल १७ हजार ३१८ वर्ग किलोमिटर रहेको छ ।
आर्थिक रुपले सक्रिय जनसंख्या ४०.छ प्रतिशत
आर्थिकरुपले सक्रिय जनसंख्यामा पनि प्रदेश ५ पहिलो रहेको छ । यहाँ ४०.६ प्रतिशत रहेको छ । जबकी राष्ट्रियमा ३९ प्रतिशत छ । कुल खेतीयोग्य क्षेत्रफलको तुलनामा खेती गरिएको क्षेत्रफल ७४.८ प्रतिशत, कुल खेती गरिएको क्षेत्रफलमा सिञ्चित क्षेत्रफल ४०.३ प्रतिशत, कुल ठूला उद्योग संस्था ८२७ र उद्योगमा रोजगारी संख्या ३१ हजार २२१ जना रहेको तथ्यांकमा उल्लेख छ । प्रदेश ५ मा कुल सडक सञ्जाल १० हजार ८ सय ३९ किलोमिटर रहेको छ । प्रदेश ५ लाई पहिलो नम्बरमा पु¥याउने लक्ष्यका साथ प्रदेश सरकार अगाडि बढेको उहाँहरुको भनाइ थियो ।