
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उन र आफू प्रेममा परेको बताएका छन् ।
किमले पठाएका ‘सुन्दर पत्रहरू’ का कारण आफूहरूको मित्रता गहिरिएको उनको भनाइ छ ।
रिपब्लिकन पार्टीका एक स्थानीय उम्मेदवारको समर्थनमा पश्चिम भर्जिनियामा आयोजिल भेलामा शनिवार ट्रम्पले किमको चर्को प्रशंसा गरे । उनले भेलामा भने, ‘हामीहरू प्रेममा परेका छौं, वास्तवमै । उनले मलाई अत्यन्तै सुन्दर पत्र लेखेका छन् । हामी त प्रेममा प–यौं, प–यौं ।’
संयुक्त राष्ट्रसंघ महासभाको बैठकमा पनि ट्रम्पले किमको प्रशंसा गरे । एक वर्षअघि मात्र उनले त्यसै बैठकमा उत्तर कोरियालाई ध्वस्त पारिदिने धम्की दिएका थिए ।
पूर्ववर्ती राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा उत्तर कोरियासँग युद्ध गर्ने तयारी गरेको ट्रम्पले दाबी गरे । आफू राष्ट्रपति नभएको भए उत्तरसँग युद्ध भइसक्ने ट्रम्पको भनाइ छ ।
ट्रम्पले पत्रकार सम्मेलनमा उक्त दाबी गरेका हुन् । उनले भने, ‘ओबामा त युद्ध गर्नैपर्छ भनी सोच्थे । युद्ध भएको भए लाखौं मानिस मारिन सक्थे अनि चर्किएर विश्वयुद्ध नै हुन सक्थ्यो ।’
एजेन्सी