
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकालको एक चौथाइ (२५.३२ प्रतिशत) समय गल्फ खेलेर बिताएका छन् ।
सन् २०१७ को २० जनवरीमा राष्ट्रपति पद ग्रहण गरेका ट्रम्प ६१६ दिनमा १५६ पटक गल्फ मैदान पुगेका हुन् । अमेरिकाका पछिल्ला तीन राष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्ल्यू बुश र बाराक ओबामाको भन्दा बढी हो ।
सन् २०१६ मा ट्रम्प राष्ट्रपति पदको उम्मेदवारी दिएर चुनावप्रचार गरिरहेका थिए । त्यतिखेर उनले तत्कालीन राष्ट्रपति ओबामाका बारेमा भने, ‘राष्ट्रपतिले गल्फ खेलेर समय बिताउनुहुँदैन । म त राष्ट्रपति भएँ भने गल्फ खेल्ने पाउँदिनँ ।’
यसो भन्ने ट्रम्प कार्यकालको पहिलो १०० दिनमा १९ पटक गल्फ कोर्स पुगे । ओबामा र क्लिन्टन पहिलो सय दिनमा एकचोटि मात्र गल्फ कोर्स पुगेका थिए । अझ बुश त त्यो अवधिमा एकचोटि पनि गल्फ कोर्स गएनन् ।
ट्रम्प सप्ताहान्तमा प्रायः गल्फ कोर्समा भेटिन्छन् । तर ह्वाइट हाउसले यस विषयमा कुनै आँकडा जारी गरेको छैन ।
अगस्ट २५ मा रिपब्लिकन सांसद जोन मक्केनको निधनपछि पनि ट्रम्पलाई श्रद्धाञ्जलि दिनुको साटो गल्फ कोर्स पुगेका थिए ।
एजेन्सी