०४ असार २०८३, बिहीबार

कश्मीर छुने ४६ अर्ब डलरको चीन–पाकिस्तान आर्थिक कोरिडोरले भारतमा हंगामा

कात्तिक २०, २०७४
 कश्मीर छुने ४६ अर्ब डलरको चीन–पाकिस्तान आर्थिक कोरिडोरले भारतमा हंगामा
करोडौं रुपैयाँको लगानीमा बन्न लागेको चीन–पाकिस्तान आर्थिक कोरिडोरलाई पाकिस्तानमा अद्भुत विकासका रूपमा व्याख्या गरिएको भएपनि छिमेकी मुलुक भारतमा भने यसले डर जन्माएको छ ।


सन् २०१५ को जुन महिनामा चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक कोरिडोरको अंगका रूपमा पाकिस्तानमा रहेका संरचना र ऊर्जा परियोजनाको विकासका लागि ४६ अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई यो योजना अस्वीकार्य भएको बताएका थिए ।

चीनको महत्त्वाकांक्षी एक पेटी तथा एक सडक (वान बेल्ट एन्ड वान रोड) वा रेशम मार्ग परियोजनाको एक अंगका रूपमा यो परियोजना अघि आएको हो । चीनको द्वन्द्वग्रस्त सिनजियाङ प्रान्तदेखि दक्षिणपश्चिमी पाकिस्तानसम्म सडक, रेलमार्ग, पाइपलाइन, हाइड्रोपावर तथा अन्य विकास परियोजना यसमा पर्दछन् ।

सन् २०१६ को नोभेम्बर महिनामा शुरु गरिएको कोरिडोर पाकिस्तान नियन्त्रित कश्मीरको गिलगिट–बाल्तिस्तान क्षेत्र भएर जान्छ ।

गत जनवरी १७ मा नयाँ दिल्लीमा आयोजित एक सेमिनारमा बोल्दै प्रधानमन्त्री मोदीले भने, ‘क्षेत्रीय सम्पर्क बढाउने कोरिडोरहरूले त्यसमा संलग्न देशहरूका सार्वभौमसत्तालाई सम्मान गरे मात्र भिन्नता र कलह हटाउन सकिन्छ ।’

मोदीले चीनको आर्थिक कोरिडोरलाई नै यो भनाइमा लक्षित गरेका हुन् भनी उनका विदेशसचिव सुब्रहमण्यम जयशंकरले पुष्टि गरे । ‘उनीहरूले अर्काको सार्वभौमसत्तालाई सम्मान गरून् भन्ने हाम्रो अपेक्षा हो,’ जयशंकर भन्छन् ।

तर नयाँ दिल्लीले देखाएको चिन्तालाई खारेज गर्दै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफीस जकारियाले आर्थिक कोरिडोर व्यापक तथा विशाल आर्थिक सहायता परियोजना हो भनी व्याख्या गरे ।

‘यो परियोजनाले पाकिस्तान र चीनको मात्र नभई पूरै क्षेत्रको आर्थिक विकासमा योगदान पु–याउनेछ,’ उनले भने ।

यो परियोजनाले चीन र पाकिस्तानलाई ठूलो रणनीतिक तथा आर्थिक फाइदा दिलाउने देखिँदैछ ।

सन् २०५० सम्ममा चीन संसारकै सबभन्दा ठूलो आर्थिक शक्ति बन्ने आँकलन गरिएको छ । आर्थिक कोरिडोर बन्यो भने पाकिस्तानको अर्थतन्त्र पनि वृद्धि हुनेछ ।

तीन हजार २०० किलोमिटर लामो कोरिडोरले चीनलाई मध्यपूर्व र मध्यएसियासँग जोड्नेछ । मलक्का स्ट्रेट भएर जाने अहिलेको समुद्री रुटलाई कोरिडोरले १० हजार किलोमिटरले घटाउनेछ ।

तर यो रुट विवादास्पद कश्मीर क्षेत्र भएर जाने भएकाले भारत चिन्तामा छ । उसले त्यहाँ सशस्त्र विद्रोह दबाउनका लागि लगभग पाँच लाख सैनिक उतारेको छ ।

तर बेइजिङले भारतका चिन्तालाई सम्बोधन गर्ने प्रयास गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले बेइजिङ अन्य देशसँग मित्रवत् तथा सहयोगात्मक सम्बन्ध बनाउन प्रतिबद्ध रहेको र आर्थिक कोरिडोरले कश्मीरमाथि चीनको धारणा नबदलिने बताइन् ।

भारतका सीमाक्षेत्रबारे अध्ययन गरेकी न्युयोर्कस्थित अधिवक्ता सुचित्रा विजयनले आर्थिक कोरिडोरबाट कश्मीरको विषय अन्तर्राष्ट्रियकरण हुने र भारतलाई यो नपच्ने बताइन् ।

त्यस्तै, स्विडेनको स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थाले चीनको आर्थिक कोरिडोर परियोजनामा भारतको आपत्तिका पछाडि कश्मीर मुद्दाको अन्तर्राष्ट्रिकरण र हिन्द महासागरमा चीनको बढ्दो प्रभाव कारण रहेको निष्कर्ष निकालेको छ ।

सन् १९६२ मा भारत र चीनबीच युद्ध भएपछि बेइजिङले इस्लामाबादसँग सम्बन्ध बढायो । पाकिस्तान हालैका वर्षमा चिनियाँ हतियारको सबभन्दा ठूलो खरिदकर्ताका रूपमा उदाएको छ ।

चीनले हिन्द महासागरमा रहेका देशहरूसँग सम्बन्ध बढाएर भारतलाई घेर्न खोजेको भारतीय पक्ष विश्वास गर्छ । बंगलादेश र श्रीलंकामा चीनले सैन्य आधार बनाएर भारतलाई चुनौती दिएको ठानिएको छ ।

अरब सागरमा रहेको ग्वादर बन्दरगाह संसारकै सबभन्दा व्यस्त जलमार्गमध्ये एक हो । यो बन्दरगाह बेइजिङलाई ४० वर्षका लागि भाडामा दिइएको छ । यही बन्दरगाहलाई चीनले जलसेनाको आधारइलाका बनाइदेला भनी नयाँ दिल्ली चिन्ता गर्छ । यसो भयो भने भारतको ऊर्जा र आर्थिक सुरक्षामा खतरा आइलाग्ने उसको आँकलन छ किनकि भारतको तेल आयातको दुई तिहाइ भाग यही क्षेत्र भएर आउँछ ।

धेरै विश्लेषकहरूले पाकिस्तानलाई बाहिर पार्ने अनि अफगानिस्तानलाई समेट्ने चाबहार बन्दरगाहले भारतलाई मध्य एसिया र युरोपसँग सम्पर्क गराउने सम्भावना देखाएका छन् ।

चाबहारलाई ग्वादरको वैकल्पिक र प्रतिस्पर्धात्मक बन्दरगाहका रूपमा आर्थिक कोरिडोरलाई काउन्टर दिने रूपमा लिइएपनि दुवै बन्दरगाहले एउटै सञ्जालको काम गर्ने सम्भावना पनि रहेको विश्लेषकहरू बताउँछन् ।

अलजजिराको अनलाइन संस्करणमा फागुन १२ गते प्रकाशित फहाद शाहको लेख ‘डज द चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर वरी इन्डिया ?’ को संक्षेपीकृत अनुवाद

अनुवादक : विन्देश दहाल

salt training

कमेन्ट गर्नुहोस्