काठमाडौं – चौधरी ग्रुपको मुख्य लगानीमा निर्माण गरिएको ललितपुरको झम्सिखेलस्थित चारतारे डिलक्स होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय ख्याती प्राप्त ताज ग्रुपले सम्हाल्ने भएको छ ।
सीजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी र द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत पुनित चटवालबीच सम्झौतामा हस्ताक्षर भएपछि होटल ‘भिभान्ता काठमाडौं’का नाममा सञ्चालनमा आउने छ ।
हस्पिटालिटी उद्योगमा विश्वभर प्रख्यात ताजलाई चौधरी ग्रुपले डेढ दशकपछि काठमाडौं भित्र्याएको हो । ताजको आगमनले नेपालको पर्यटन उद्योगमा उत्साह थप्ने एवं पर्यटकले उच्च गुणस्तरको सेवा पाउने वातावरण तयार भएको छ । यसअघि, ताजले चौधरी ग्रुप अन्तर्गतकै विख्यात जंगल सफारी रिसोर्ट मेघौली सेराईको व्यवस्थापन पनि सम्हालिरहेको छ ।
‘नेपालको हस्पिटालिटी क्षेत्रमा अब हामी सशक्त रूपमा उपस्थित भएका छौं । ताजजस्तो विख्यात ब्राण्डमा होटल सञ्चालनमा ल्याउन पाएकोमा हामी अत्यन्तै खुशी छौं,’ ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले भने, ‘हामी नेपालको पर्यटनलाई अर्को तहमा पुर्याउन प्रतिवद्ध छौं र सोही सोंचमा आधारित रहेर हामीले हाम्रा होटल एवं रिसोर्टको निर्माण गरिरहेका छौं ।’
होटल सन् २०१८ को नोभेम्बरमा उद्घाटन गर्ने लक्ष्य राखिएको छ । हाल होटलमा आन्तरिक सजावटका काम भइरहेका छन् । होटलमा सुइटसहित १ सय ११ रूम रहेका छन् ।
इन्डियन होटल्स कम्पनी लिमिटेडका महाप्रबन्धक एवं कार्यकारी अधिकृत पुनित चटवालले भने, ‘नेपालमा चौधरी ग्रुपजस्तो प्रतिष्ठित ग्रुपद्वारा प्रवद्र्धित आर एण्ड आर होटल्स एण्ड रिसोर्टसँग नयाँ होटेलमा साझेदारी बन्न पाउनु गौरवको कुरा हो । पर्यटकीय दृष्टिकोणले काठमाडौं प्रख्यात स्थान हो । यस साझेदारीले मेघौली सराईसँग टुरिस्ट सर्किटको रुपमा जोड्ने हाम्रो चाहना पूरा हुनेछ ।’
होटलको १० औं तलामा ‘इन्फिनिटी स्विमिङ पुल’ निर्माण गरिएको छ । जुन नेपालका लागि सम्भवतः नयाँ अनुभव सावित हुनेछ । त्यसैगरी होटलमा २५ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गरी रुफ टप बारको व्यवस्था मिलाइएको छ । जहाँ डिजेको प्रस्तुतिसँगै विश्वमा उपलब्ध सबै प्रकारका मदिरा उपलब्ध हुने छन् ।
सुविधा सम्पन्न लबि, क्याफे, डाईनिङ लाउन्जको सुविधा उपलब्ध हुनेछ । पार्किङका लागि बेसमेन्ट पार्किङको व्यवस्था गरिएको छ । शारीरिक ब्यायामका लागि फिटनेस क्लब उपलब्ध हुनेछ । व्यावसायिक प्रयोजनका लागि छुट्टै बिजनेस सेन्टरको व्यवस्था मिलाइएको छ ।
सुरक्षाको प्रत्याभुतिको लागि सीसीटीभी एवं अन्य सुरक्षा तथा मानवीय संवेदनशीलतालाई ध्यानमा राखि अलाम, फायर एक्सटिङ्ग्युर तथा वाटर स्प्रिन्कल्स आदि सेवा उपलब्ध रहने छन् । होटेलमै साउना, सैलुन र स्पाको व्यवस्था मिलाइने छ ।
चौधरी ग्रुप र ताजबीचको साझेदारीमा श्रीलंका, माल्दिभ्स, थाईलैण्ड, दुवई र भारतमा विख्यात होटल एवं रिसोर्ट सञ्चालनमा छन् ।
आर एण्ड आर होटल्स एण्ड रिसोर्ट
आर एण्ड आर होटल्स एण्ड रिसोर्ट नेपालको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाई दिने अभिप्रायले सीजी हस्पिटालिटिको मुख्य लगानीमा स्थापना भएको कम्पनी हो । कम्पनीको स्वामित्व नेपाललाई प्रतिनिधित्व गर्दै फोब्र्स लिस्ट पर्न सफल अर्बपति बिनोद चौधरीको ग्रुप हो । सीजी हस्पिटालिटी अन्तर्गत १२ देशका ७० स्थानमा ९५ भन्दा बढी होटेल, रिसोर्ट, लज र स्पा सञ्चालनमा छन् । हाल सीजी गु्रपको मातहतमा सञ्चालित होटेलको रुम क्षमता ५ हजार ७ सय रहेको छ ।
सन् २०२० सम्ममा सीजी हस्पिटालिटीको पोर्टफोलियोमा २ सयभन्दा बढी होटेल पुर्याई विभिन्न २० देशका १ सय स्थानमा पुर्याउने लक्ष्य छ । होटेलको विस्तारसँगै रुमको क्षमता १० हजार पुग्नेछ ।
आर एण्ड आर होटेल्स एण्ड रिसोर्टको प्रबद्र्धक कम्पनीको रुपमा एनई गु्रपको शतप्रतिशत लगानी भएको सहायक कम्पनी शिवक्रीम ल्यान्ड एण्ड ईन्डस्ट्रियल कम्पनी प्रालि रहेको छ । शिवक्रीम ल्यान्ड एण्ड ईन्डस्ट्रियल कम्पनी प्रालिको अध्यक्षता रभिभक्त श्रेष्ठ रहेका छन् ।
द इन्डियन होटल्स कम्पनी लिमिटेड
द ईन्डियन होटल्स कम्पनी लिमिटेड र यसका सहायक कम्पनी अन्तर्गत सिर्जना भएका विभिन्न ब्रान्डले विशेष भारतीय आतिथ्य तथा विश्वस्तरीय सेवा प्रदान दिइरहेका छन् । जसअन्तर्गत हस्पिटालिटी क्षेत्रमा परिचित ताज, परिष्कृत ठूला होटेल तथा रिसोर्टको स्वामित्व भएको भिभान्त र बजेट होटेलको रुपमा परिचित जीन्जर ब्रान्ड रहेका छन् ।
टाटा गु्रपका संस्थापक जमशेदजी टाटाले सन् १९०३ बम्बईमा स्थापना गरेको द ताज महल प्यालेश कम्पनीको पहिलो होटेल हो । हाल कम्पनी अन्तर्गत १ सय ७० होटेल विश्वको ४ महादेश, १२ देश र ८० स्थानमा सञ्चालित छन् । २५ होटेल निमार्णको चरणमा छन् ।
बजार पुँजीकरणको आधारमा द ईन्डियन होटल्स कम्पनी लिमिटेड दक्षिण एसियाको ठूलो कम्पनीमा पर्दछ । कम्पनी भारतको बम्बई स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्जमा सूचीकृत छ ।