
कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिक गर्न माग राख्दै आन्दोलित प्रदर्शनकारीले मंगलवार पत्रकारमाथि कुटपिट गर्नुका साथै क्यामेरा समेत तोडफोड गरेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलवार आह्वान गरेको बन्दको रिपोर्टिङ गर्ने क्रममा एसटीएस एंव सगरमाथा टेलिभिजनको कञ्चनपुर समाचारदाता चन्द्रकान्त जोशीलाई कुटपिट गर्नुका साथै क्यामेरा तोडिदिएका छन् ।सरकारी कार्यालय र गाडी तोडफोडको क्रममा फोटो किन खिचेको भन्दै कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएका पत्रकार जोशीले तोडफोड गर्न लागेको फोटो किन खिचेको भन्दै आन्दोलनकारीले आफूमाथि अभद्र व्यवहार गर्नुका साथै कुटपिट र क्यामेरा खोसेर भागेको बताए ।
‘म शुरूदेखि आन्दोलनको भिजिओल खिचिरहेको थिए,’ उनले भने, ‘आन्दोलनकारी सरकारी कार्यालय बन्द गराउँदै हिँडेका थिए, सरकारी वकिल कार्यालयमा तोडफोड गर्दा ममाथि हातपात मात्रै भएन क्यामेरा पनि तोडे ।’
समाचार संकलन गर्न गएका पत्रकार जोशीमाथि हातपात र क्यामेरा तोडफोड गरेको भन्दै कञ्चनपुरका पत्रकारले नेविसंघका आन्दोलनकारीले गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।

पत्रकार र क्यामेरा तोडफोड गर्नु प्रेस र प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै दोषीउपर कारबाहीको माग अघि सारेका छन् ।
नेविसंघमा आवद्ध युवाले बन्दको अवज्ञा गरेको भन्दै कञ्चनपुरका ३ सरकारी कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुका साथै कुर्सी, टेबुल तोडफोड गरेका हुन् ।
नेविसंघका बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै एक्कासी कार्यालयभित्र आएर तोडफोड गरेको कर्मचारीले बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधीवक्ता खेमराज भट्टले नेविसंघका बन्दकर्ताले एक्कासी कार्यालयभित्र पसेर कर्मचारी, कार्यालय र जीप तोडफोड गरेको बताए । भट्टका अनुसार सरकारी वकिल कार्यालयका नासु कृष्ण भट्ट, कम्प्युटर डाटा अपरेटर मञ्जु भट्ट र कार्यालय सहयोगी धनवीर भाटमाथि कुटपिट गरेको बताए ।
बन्दकर्ताले कार्यालयभित्र तोडफोड र नासु भट्टमाथि कुटपिट गर्दा प्रतिकारमा उत्रेका कार्यालय सहायक भाटको सर्टको बटम च्यातिदिएका थिए । कार्यालयको बा२झ २७१५ नम्बरको जीपमा तोडफोड गरिदिएका छन् । तोडफोडबाट जीपको शीशा फुटेको छ । जिल्ला न्यायाधीवक्ता भट्टले सरकारी वकिल कार्यालयको जीप, कार्यालय र कर्मचारीमाथि कुटपिट गर्नेविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको बताए ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङमा जिसस र प्राविधिक कार्यालयमा समेत तोडफोड गरेको बताए । उनका अनुसार कार्यालयभित्र पसेका आन्दोलनकारीले कुर्सी, टेबुल, शीशा र कम्प्युटर, प्रिन्टर, टेलिफोन तोडफोड गरिदिएका छन् ।
यता, नेविसंघ कञ्चनपुरले सरकारी कार्यालय सवारीसाधन तोडफोड र पत्रकार कर्मचारीमाथि कुटपिट कुनै पनि नेविसंघले नगरेको दावी गरेको छ । नेविसंघका केन्द्रीय सदस्य एवं कञ्चनपुरका संयोजक गणेश भट्टले नेविसंघको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको बताए । ‘हाम्रो आन्दोलनमा घुसपैठ भयो,’ उनले भने, ‘घुसपैठ गरेर प्रेस र सरकारी कार्यालयमा तोडफोड गरियो ।’
क्यामेरामा कैद भएका तोडफोड गर्ने र कुटपिट गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले सरकारी कार्यालय, सवारीसाधन र पत्रकारमाथि कुटपिट गर्नेको खोजी भइरहेको बताए ।