काठमाडौँ, १४ फागुन- आन्तरिक उडानतर्फ ६ वटा जहाज पुगेपछि नेपाल वायुसेवा निगमले देशभर २१ विमानस्थलमा उडान गर्ने गरी तालिका बनाएको छ । नेवानिले काठमाडौं, नेपालगन्ज र विराटनगर गरी तीनवटा विमानस्थललाई आधार मानेर देशभरका २१ विमानस्थलमा उडान गर्नेछ । आन्तरिक उडानमा निगमसँग दुईवटा ट्विनअटर, दुईवटा ५६ सिट क्षमताको एम ६० र दुईवटा वाई १२ जहाज पुगेका छन्, आजको नयाँ पत्रिकामा खबर छ ।
निगमले यसै महिना दुई जहाज थप गरेपछि निगमका उडान संख्या बढ्न लागेको हो । निगमले नेपाल नागरिक उड्डन प्राधिकरणबाट विन्टर सिजनका लागि प्राप्त गरेको उडान तालिकाअनुसार सातामा कुल १ सय ६८ उडान हुनेछन् । त्यसमध्ये अधिकतम २६ (आइतबार-सोमबार) उडान हुनेछन् भने मंगलबार र शनिबार २२-२२ उडान हुनेछन् । निगमले प्राधिकरणबाट यो उडान तालिका प्राप्त गरे पनि तत्काल भने यो संख्यामा उडान नहुने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
