
काठमाडौं–प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर उडे । दुवै अध्यक्ष मुलुकमा नभएको मौकामा वरिष्ठ नेता माधव नेपालले संसदमा सरकारको आलोचना गरे । लगत्तै राजधानीमा स्थायी समिति सदस्यहरूको भेला राखे ।
त्यही दिन पार्टी महासचिव विष्णु पौडेललाई विधिविपरीत प्रदेश कमिटीको नेतृत्व छानिएको भन्दै असहमतिपत्र बुझाए । चार महिनाअघि केन्द्रमा भएको एमाले र माओवादीबीचको एकता प्रक्रियाले पूर्णता नपाउँदै एकता प्रक्रियालाई लिएर वरिष्ठ नेताहरूबीचको विवाद छताछुल्ल भयो । बिहीबार स्वदेश फर्केका प्रधाममन्त्री ओलीले आफ्नो अनुपस्थितिमा नेपालका गतिविधिप्रति संकेत गर्दै ‘मुद्दाविहीन राजनीति’ नगर्न सल्लाह थिए । ओलीले ‘कवि मन’ले केही भनिहाले पनि त्यसको पछि नकुद्ने बताउँदै एकता प्रक्रिया केही दिनमै टुंगो लाग्ने दाबी गरे ।
नेकपाभित्र शीर्ष नेताबीचको विवादको खास कारण के हो त ? नेताहरूका अनुसार पार्टीमा कसको वर्चस्व रहने भन्ने ‘छद्म लडाइँ’ हो यो । त्यसकै रिहर्सलका रूपमा प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकतासम्बन्धी विवाद सतहमा आएको हो । चार महिनाअघिको एकताले उत्साह सिर्जना गरे पनि त्यसपछि अन्य काम अल्झिएका छन् । यसले कार्यकर्ताको उत्साह बिस्तारै मर्दै गइरहेको पार्टीका नेता बताउँछन् ।
एकता प्रक्रियामा सक्रिय भएका नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार नेताहरूले पार्टी एकता र कार्यकर्ताको भावना नै नबुझी आफ्नो ढंगले चल्न थालेका छन् । कमिटी प्रणाली बिर्सेर गलत निर्णय हुन थालेको उनको बुझाइ छ । ‘एकतालाई एउटा ढाँचा र पद्धतिबाट टुंग्याउनुपर्ने हो,’ केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘तर पार्टी सत्ता र राज्यसत्तामा को हावी हुने भन्ने स्वार्थको लडाइँ धेरै भइरहेको छ ।’ सहमतिअनुसार आउँदो दुई वर्षभित्र पार्टीको महाधिवेशन गर्ने भनिएको छ । त्यसका लागि आकांक्षीको सूची लामै छ । एकता गर्दा नै भावी अध्यक्ष आफ्नो भन्ने पुष्पकमल दाहालको दाबी छँदै छ । एमाले ठूलो पार्टी भएकाले त्यो धारकै नेतृत्व हुनुपर्छ भन्नेमा माधव नेपाल छन् ।
ईश्वर पोखरेल एमालेमा दुई पटक महासचिव भएको व्यक्ति अब नेतृत्व गर्ने भन्ने आकांक्षामा छन् । यी सबै नेताका आकांक्षाबीच ओली आफैंले पनि भावी नेतृत्व आफ्नो होइन भनेर कतै भनेका छैनन् । वामदेव गौतमले पनि ७० वर्षको उमेर हद लागू नहुने भन्दै छन् । पूर्वअध्यक्षसमेत रहेका झलनाथ खनाल ‘पहिले बिरामी थिएँ र विश्राम लिएँ, अब तन्दुरुस्त भएको छु, आफ्नो गुट बनाउँछु’ भन्दै हिँडेका छन् ।
त्यसैले भावी महाधिवेशनमा कसको नेतृत्व स्थापित हुने भन्ने कुरा अहिले प्रदेश र जिल्ला कमिटीको एकतासम्बन्धी निर्णयको धेरै प्रभाव रहन्छ । अहिले आफू अनुकूलको जिल्ला र प्रदेश नेतृत्वमा बढीभन्दा बढी व्यक्ति ल्याउनसके महाधिवेशनमा प्रभाव पर्न सक्छ जसलाई आधार बनाएर महाधिवेशनको नेतृत्व हत्याउन पाइन्छ भन्ने नेताहरूको सूक्ष्म गृहकार्य छ । अहिले केपी ओली र पुष्पकमल दाहालले गरिरहेको निर्णय र माधव नेपालका विरोधभित्र त्यस्तै स्वार्थ पनि हावी छन् । ‘आफ्नो मान्छेलाई मात्र अघि सार्ने, नेताको वरिपरि हुनेले पनि घेराबन्दी गरेर अवसर लिइहाल्ने जस्तो देखिएको छ,’ केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन्, ‘भोलि पार्टीले कस्तो शक्ति आर्जन गर्ने भन्नेतर्फ कम ध्यान दिएको देखिन्छ ।’, कान्तिपुर दैनिकमा खबर छ ।
पप्पु कस्न्ट्रक्सनका अध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माणमा संलग्न सबै प्राविधिक कर्मचारीबाट ‘लाइन लेभल’ तथा उचाइको सम्बन्धमा देखिएको गम्भीर लापर्वाही स्वीकार गरी गुपचुपरूपमा कार्य गरेको देखिएकाले उक्त कार्यमा संलग्न निर्माण व्यवसायीदेखि सम्पूर्ण कर्मचारीको मिलेमतो पुष्टि भएको अख्तियारले जनाएको छ ।
पुल निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रक्सन प्रालिका तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियारविरुद्ध रु १९ करोड ३२ लाख २५ हजार ६९५ माग दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए । पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पनि सोही रकम माग दाबी गरिएको छ । एभरेष्ट इञ्जिनीयरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवसँग रु एक लाख ४१ हजार २५० बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।
आयोगमा जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरी नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्दै निर्माण व्यवसायी र सम्बन्धित कार्यालयविरुद्ध उजुरी परेको थियो । अनुसन्धानका क्रममा फिल्डको नापजाँच हचुवाको भरमा गरेको, तोकिएको मापदण्डबमोजिमको नभएको, मापदण्डबमोजिम निर्माण व्यवसायीबाट ‘क्वालिटी एसुरेन्स प्लान’ पेश गर्न लगाई स्वीकृत गरी निर्माण सामग्रीको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिश गरेको पाइएको अख्तियारले जनाएको छ ।
सांसद रौनियार निलम्बित
प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा परेको संघीय संसद् सचिवायलका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
उनी संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट विजयी भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ ले सार्वजनिक पद धारणा गरेका व्यक्तिविरुद्ध भ्रष्टाचारसम्बन्धी दायर भएर मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बित हुने व्यवस्था गरेको छ । ऐनअनुसार त्यसरी निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकमा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन ।
संसदीय समितिको निर्देशनप्रति मन्त्रीको असन्तुष्टी
संसदको लेखासमितिले चिनीको खुद्रा मूल्य तोकेकोप्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले असन्तुष्टि जनाएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले संसदीय समितिको काम बजार मूल्य तोक्ने नभएको बताए । मन्त्री यादवले संसदीय समितिले दिएको निर्देशन मन्त्रालयले मान्नै पर्छ भन्ने नरहेको बताएका छन् ।
लेखासमितिले बिहीबार चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ भन्दा बढी नतोक्न निर्देशन दिएको थियो । ‘समितिले चिनीको मूल्य तोकेको छ । तालुकदार मन्त्रालयका मन्त्रीलाई नबोलाई कसरी मूल्य तोकियो’, मन्त्री यादवको प्रश्न थियो । समितिको निर्देशन मन्त्रालयले कार्यान्वयन गर्ने हैसियत नभएको उनको भनाइ छ ।
नेकपा सचिवालय बैठक आइतबार
पार्टी एकता प्रक्रिया र सरकार सञ्चालनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यही असोज २१ गते आइतबार अपराह्न सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको छलफलपछि सचिवालयको बैठक बोलाइएको हो ।
केही दिनपहिले बसेको नेकपाको सचिवालय बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेको थियो । नेकपाले प्रदेश र जिल्ला तहको पार्टी एकतालाई निष्कर्षमा पु¥याउने गरी आवश्यक तयारी शुरु गरेको छ । नेकपाको केन्द्र र प्रदेशका एकता प्रक्रिया अगाडि बढे पनि प्रदेश, जिल्ला तह तथा जनवर्गीय सङ्गठनको एकता भने निष्कर्षमा पुग्न सकेको छैन ।
नेकपाः जिल्ला कमिटीलाई एकीकृत रूपमा गतिविधि गर्न निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ ले जिल्ला तहमा एकता नहुँदासम्मका लागि पदाधिकारीहरूलाई एकीकृत रूपमा गतिविधि गर्न निर्देशन दिएको छ । प्रदेश नं ३ इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले जिल्ला तहमा पार्टीको गतिविधिमा शून्यता भएपछि पूर्वनेकपा (एमाले) र पूर्वनेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटीका पदाधिकारीलाई आफ्ना मातहतका जिल्ला कमिटीलाई एकीकृत रूपमा गतिविधि गर्न निर्देशन दिइएको हो ।
प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला तहमा कार्यक्रम सञ्चालन नभएपछि पार्टीलाई चलायमान गराउनका लागि दुवै पार्टीका कमिटीलाई संयुक्त रूपमा गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिइन् । नेकपाले यसअघि जिल्ला कमिटी एकीकरण नहुँदासम्म कार्यक्रम गर्न रोक लगाएको थियो ।
साढे एघार हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्
विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४/०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिए ।
शिक्षकलाई साउनदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन अन्तिम समयसीमा तोकिएको थियो । उनका अनुसार स्थायी शिक्षकले किताबखाना र अस्थायी शिक्षकले जिल्लास्थित जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयमा बुझाउने छन् । भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा प्रत्येक वर्ष सार्वजनिक पद धारण गरेको व्यक्तिले आव शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक असोज २१ गते
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २२ गतेका लागि बोलाइएको बैठक असोज २१ गतेका लागि सारिएको छ । शुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेताहरू काठमाडौँबाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको थियो ।
पछि नेता उपलब्ध हुने देखिएपछि असोज २१ गतेका लागि बैठक तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, नेपाल विद्यार्थी सङ्घको विधान पारित, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।
प्रेसजगतप्रति अपमानजनक व्यवहार बन्द गर्न माग
नेपाल पत्रकार महासंघले सिंगो प्रेसजगतप्रति आक्षेप र अपमानजनक व्यवहार बन्द गर्न सरकारसँग माग गरेको छ । महासचिव रमेश विष्टले शुक्रबार विज्ञप्ति निकालेर सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको पछिल्लो अभिव्यक्तिले आमपत्रकारको अपमान भएको भएको भन्दै त्यस्तो व्यवहार बन्द गर्न माग गरे ।
महासंघले जिम्मेवार मन्त्रीबाट गलत किसिमको अभिव्यक्ति आएको भन्दै विरोध जनाएको हो । ‘मन्त्री बाँस्कोटाले पत्रकारहरुलाई दशैं आएको छ, खर्च पुगेन भने लिन आउन भनी दिएको अभिव्यक्तिले आमपत्रकारहरुको अपमान भएको छ’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।
बालअधिकार हननसम्बन्धी ५८३ घटना
केन्द्रीय बाल कल्याण समितिले आव २०७४/०७५ मा ५८३ वटा बालअधिकार हननसम्बन्धी घटना भएको जनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको उक्त समितिका अनुसार ती घटनामा बाल श्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, ओसारपसारलगायत ११ शीर्षकमा एक हजार २७३ बालबालिका प्रभावित भएका छन् ।
सबैभन्दा बढी अन्तिम चौमासिकमा ३०६ घटना संख्या हुँदा ६७५ बालबालिका प्रभावित भएका थिए । पहिलो चौमासिकमा ९६ घटना भएकामा १९५ बालबालिका प्रभावित थिए भने दोस्रो चौमासिकमा १८१ घटना हुँदा ४०३ बालबालिका प्रभावित भएका हुन् ।
परिवर्तित नेपाल नामक सामाजिक संस्थाले आयोजना गरेको ‘बाल बालिकामाथि हुने दुव्र्यवहार तथा यौन हिंसा न्यूनीकरण’ विषयक अन्तक्र्रियामा सहभागीले यस्ता घटना न्यूनीकरणका लागि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।
नोबेल शान्ति पुरस्कार
यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका डेनिस मुकवेगे र इराककी याजिदी समुदायकी नादिया मुरादले संयुक्त रूपमा पाउने भएका छन् । मुकवेगेले आफ्नो पूरै जिन्दगी युद्धका बेलामा यौन हिंसामा परेका महिलाको प्रतिरक्षामा बिताएका छन् ।
त्यस्तै मुरादले आफूविरुद्ध तथा अन्यविरुद्ध भएका यौन दुर्व्यवहारका कथाहरू बताउने गरेकी छन् । याजिदी समुदायकी मुरादलाई उत्तरी इराकमा रहेको उनको गाउँमा आईएसका आतंकवादीहरूले अपहरण गरेर यौनदासी बनाएर राखेका थिए ।
मुरादले यसअघि युरोपेली संघको साखारोभ मानवअधिकार पुरस्कार सन् २०१६ मा पाएकी थिइन् । युरोपेली परिषद्को भाक्लाभ हाभेल मानवअधिकार पुरस्कार पनि उनले पाएकी थिइन् ।
भारतलाई पराजित गर्दै नेपाल फाइलनमा
नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो । पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट प्रदर्शनले नेपाल फाइनल पुग्न सफल भयो । रानामगरले भारतको दुई पेनाल्टी रोकिन् भने एक गोल गर्न सफल भइन् ।