
काठमाडौँ– प्रस्तावित नागरिकता ऐन संशोधन विधेयकमा रहेको बाबु पहिचान हुन नसकेका सन्तानको हकमा नागरिकता प्राप्तिका लागि आमाले त्यसको पुस्ट्याई गर्नुपर्ने व्यवस्था हटाउन सरोकारवालाहरूले सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विचाराधीन विधेयकमा शुक्रबार सरोकारवालासँग भएको छलफलमा उनीहरूले त्यस्तो व्यवस्था व्यवहारिक नभएको भन्दै हटाउन सुझाव दिएका हुन्। गाेरखापत्र दैनिकमा खबर छ ।
विधेयकमा प्रस्तावित व्यवस्थाले यौन हिंसामा परेका, मानव बेचबिखनबाट उद्धार गरिएका लगायतका घटनाबाट जन्मिएका व्यक्तिको हकमा समस्या हुने भन्दै सो व्यवस्था व्यवहारिक नभएको उनीहरूको भनाइ छ ।
नागरिकता ऐन संशोधनका लागि ल्याइएको प्रस्तावित विधेयकको दफा (८) मा नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा बाबुको पहिचान हुन नसकेको पुष्ट्याईसहित आमाले स्वघोषणा गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था परिमार्जनका लागि सुझाव दिइएको हो ।