
सुर्खेत–कर्णाली प्रदेशमा नयाँ जनप्रतिनिधि चयन भएसँगै समुदाय दलित समुदायका जनप्रतिनिधिहरु अब्बल बन्दै गएका छन् ।
जननिर्वाचित हुने बेलामा मुस्किलले दुईचार जनाको सामु कुरा राख्ने उक्त समुदायका जनप्रतिनिधि अहिले भने मनमा लागेका कुरा निर्धक्क राख्ने गरेका छन् ।
‘उहिले मलाई दुइ चार जनाको माझमा उभिएर बोल्न लाज लाग्ने गरेको थियो ।’ आठबीस नगरपालिका वडा नं. ६ दैलेख कि निर्वाचित महिला सदस्य सुपारी नेपालीले भनिन्, ‘तर अहिले मञ्च प्रयोग गर्न, मनमा लागेका कुरा राख्न मलाई सहज भएको छ ।’ ५८ वर्षीया नेपाली अहिले आठबीस नगरपालिकामा हुने गरेका हरेक गतिविधिमा उनको सहभागिता रहने गरेको छ । उनले भनिन्, नेतृत्व गर्ने अवसर पाएको खण्डमा आफूलाई सुधार गर्न सकिने रहेछ ।
श्रीमती तथा बुहारीको नातामा सिमित परिचय पाउने गरेकी वडाको सदस्य सम्म पुग्न कम्ती संघर्ष गर्नुपरेन सिम्ता गाउँपालिका सुर्खेतकी नम्रता लोहारलाई ।
उनले अहिलेसम्म धेरै पटक नेतृत्वमा पुग्ने र आफ्ना समाजका लागि केहि गर्ने चाहना स्थानीय निर्वाचनले पुुरा गरिदियो । ‘दिउँसो बैठक हुने दिनमा बिहानै उठेर कहिले राति अवेसम्म सकेर भएपनि बैठकमा समय निकाल्थेँ’ उनले भनिन्, ‘घरपरिवारको सहयोगले कामलाई निरन्तरता दिदै गएपछि अहिले सफलता मिल्यो ।’
अहिले घरपरिवारका सदस्यहरु पनि उनको काम देखेर खुसी छन् । घरायसी अथवा मेलापातको काममा मात्र घरबाहिर निस्कने नम्रता अहिले विभिन्न योजनाका काम लिएर जाने गर्दछिन् । ‘पहिले हाम्रा अगाडी नपत्याएर होच्याउने र छाडा बोल्ने पुरुषहरु अहिले राम्रोसँग बोल्नुहुन्छ’ उनी भन्छिन्,‘हामीलाई नपत्याउने व्यक्तिहरुले हामीलाई नमस्कार भन्न थालेका छन् ।’ उनले थपिन, जनप्रतिनिधि भएका कारण अहिले समाजमा सबैले राम्रो व्यवहार गर्ने र उनीहरुको दुःख सुखमा सहभागि हुने अवसर मैले पाएकी छु ।
काखमा दुधेबच्चा च्याप्दै सोही गाउँपालिकाकी राधिका नेपाली पनि वडाका बैठकमा सहभागी हुन थालेकी छिन् । त्यसैमा उनले वडाका लागि आवश्यक पर्ने योजनाका निर्णयहरुमा पनि छलफलमा सहभागी हुन्छिन् ।
उनी विभिन्न कार्यक्रममा वडा सदस्यको परिचय दिन पाउँदा खुसीको अनुभव भएको बताउँछिन् । त्यसमाथि पनि गाउँका पहिले दलित भनेर हेयको दृष्टिले हेर्ने पुरुषहरुले नै नमस्कार गर्दा उनको मन गदगद हुन्छ । ‘वर्षाैसम्म पुरुषहरुले नेतृत्व गरेको पदमा काम गर्न सकिदैनकी भन्ने मनमा कुरा खेलिरन्थ्यो तर पनि हिम्मत नहारेर पद सम्हालेकी हुँ ।’ घरायसी सानोतिनो काममा निर्णाय नगरेकी उनलाई एक्कासी पद सम्हाल्न चुनौति थियो । त्यसमा पनि महिला महिला दिदि बहिनीले साथ दिएपछि सफल भएको उनको भनाई थियो ‘अगाडी सरेर काम गर्दै जाँदा सफलता मिल्दो रहेछ’ उनले भनिन्, ‘अझै अगाडी बढेर पछि परेका दलित महिलाहरुको हक अधिकार र उनीहरुलाई अगाडी बढाउनको लागि लागिपर्नेछु ।’
निर्णायक पदमा पुगेपछि समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य यमुना नेपालीको अनुभव छ ।
उसो त यमुना वीरेन्द्रनगरमा सक्रिय नेतृत्व गर्दै र दलित समुदायका पक्षमा वकालत गर्दै आएकी एक उदाहरणीय महिला नेतृ पनि हुन् । ‘नेतृत्व तहमा पुगेपछि मसँग आशा गर्नेहरु धेरै छन्’ उनले भनिन्, ‘त्यसैले गर्दा पनि म प्रतिको उनीहरुको व्यवहारमा फरक छ ।’ उनले आफूहरु नेतृत्वमा पुगेपछि नगरपालिकामा दलित समुदायको पक्षमा काम गर्न नगरमा योजना ल्याउने गरेकोसमेत बताइन् ।
लेकवेशी नगरपालिका सुर्खेतका नगर प्रमुख गगनसिंह सुनार लोकतान्त्रिक गणतन्त्रले यो अवसर जुराईदिएको बताए । उनी तत्कालिन नेकपा एमालेको जिल्ला तहमा लामो समय सक्रिय रहेका थिए । सोही सक्रियताका कारण उनले लेकबेसी नगरपालिकाको वागडोर सम्हाल्ने अवसर पनि पाए ।
‘स्थानीय तहको निर्वाचनले उत्पिडित जातीका जनतालाई नेतृत्व तहमा पुर्याउन भूमिका खेलेको छ । पहिलेको तुलनामा एक वर्षमा नै दलित समुदायबाट निर्वाचित भएर आएका जनप्रतिनिधिको अहिले नेतृत्व गर्ने क्षमतामा औधि वृद्धि भएको छ ।’ उनले भने, ‘यस्ता अवसरहरु दलित समुदायले पाएको खण्डमा देश हाँक्न पनि सक्ने उदाहरणको रुपमा स्थानीय तहका दलित जनप्रतिनिधिलाई लिन सकिन्छ ।’
राज्यको मुलधारबाट पछि पारिएका दलित समुदायका लागि यो अवसर र चुनौति भएको उनको भनाई छ । ‘पछि पारिएको समुदायबाट निर्वाचित भएपछि अहिले हामीलाई चुनौति पनि छ र अवसर पनि छ ।’ नगरप्रमुख सुनारले भने, ‘यी चुनौतिहरुलाई पार गर्दै हामीहरु अघि बढिरहेका छौं । हामी पनि नेतृत्व गर्न कोही भन्दा कम छैनौं ।’