१४ असार २०८३, आइतबार

जंगली हात्तीको झुण्डले धानबाली सखाप पार्‍यो

जंगली हात्तीको झुण्डले धानबाली सखाप पार्‍यो

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीको आधा दर्जन बढी गाउँमा छिरेको हात्तीको झुण्डले स्थानीय किसानले २० बिगाहा खेतमा लगाएको धानबाली दुई दिनमै सखाप पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे फेदीको राष्ट्रिय वनबाट बस्ती छिर्ने गरेको हात्तीले पाकेर काट्नै लागेको धानबालीमा व्यापक नोक्सानी गरेपछि किसानलाई समस्यामा पारेको छ ।
 
धानबाली जोगाउनका लागि स्थानीय बासिन्दाले रातभर आगो बालेर र ड्रम बजाएर जाग्राम बस्दै आएका छन् । बालबालिका र बुढापाकालाई हात्तीको आक्रमणबाट जोगाउन र घरभित्र भण्डारण गरिएको अन्न जोगाउनका लागि सुरक्षित स्थानमा राखिएको नगरपालिकाका वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । 

“हात्तीलाई समेत क्षति नहोस् र स्थानीय किसानको खेतमा क्षति नपुगोस् भनेर स्थानीय बासिन्दासँगै सामुदायिक वनको वन्यजन्तु सुरक्षा युनिटलाई परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो । “वर्षभरि खानका लागि खेतमा लगाइको धानबाली हात्तीको झुण्डले सखाप पारेपछि परिवार पाल्नका लागि धानको जोहो कहाँबाट गर्ने भन्ने चिन्ता थपिएको छ”, स्थानीय जयदेव भट्टले भन्नुभयो, “लगाएको धानबाली हात्तीले खाएपछि परिवारलाई भोक भोकै राख्नुपर्ने भएको छ ।”
 
“अरु कमाइ गर्ने साधन छैन । हात्तीले एक बिगाहामा लगाएको धानबाली पूरै नोक्सान गरेको छ । खेतमै उत्पादन भएको धान बेचेर र खानका लागि राख्दै आएका थियौँ । अब आउनै लागेको चाडपर्वको खर्च धान्नसमेत आफन्तलाई गुहार्नुपर्ने बाध्यता आइलागेको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाको वडा नं ८ ले सङ्कलन गरेको विवरणअनुसार भमरभोजका तीन, नौखरीका चार, पिलरीका तीन र बेलडाँडीका नौ गरी १९ परिवारको धानबाली हात्तीको झुण्डले नोक्सानी गरेको छ । बिहीबार मात्रै हात्तीको झुण्डले नगरपालिकाको वडा नं १ र ११ का २० जना किसानको ६६ कट्ठा जग्गामा लगाइएको धानबालीमा नोक्सानी गरेको थियो ।
 
नगरपालिका कार्यालयले हात्ती नियन्त्रणका लागि कुनै पनि प्रयास नगर्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन् । नगर प्रमुख लगायतले अनुगमन मात्रै गर्ने अश्वासन मात्रै दिने र नियन्त्रणका लागि प्रयास नगर्दा स्थानीय बासिन्दा आक्रोशित भएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्