
काठमाडौं — अमेरिकी सिनेटले न्यायाधीश ब्रेट कवानालाई त्यहाँको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि बहुमत दिएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिफारिश गरेका कवाना न्यायाधीश बन्ने बाटो खुलेपछि ट्रम्पका लागि ठूलो विजय मानिएको छ ।
उनले आवश्यक बहुमत पाउने लगभग निश्चित नै थियो किनकि सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीले शुक्रवारको प्रक्रियागत मतदानमा मेजोरिटी सपोर्ट पाएको थियो ।
कवानाको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो ।
उनलाई न्यायाधीश नियुक्त गरिनुहुँदैन भनी व्यापक विरोध भएको थियो । विगतमा उनले थुप्र्रै यौन दुर्व्यवहार गरेको भनी पीडित भनिएका महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।
उनको इमान्दारी, चालचलन र पक्षधरताका सम्बन्धमा निकै प्रश्नहरू उठेका थिए ।
कवानाले दुर्व्यवहारका सबै आरोपहरूलाई पूर्णतः अस्वीकार गरेका छन् ।
उनको पक्ष र विपक्षमा मत पार्टी लाइनअनुसार खसेको थियो र उनको विजय अदालतको इतिहासकै सबभन्दा साँघुरो अन्तरमध्येको एक थियो ।
अदालतमा दक्षिणपन्थी न्यायाधीश सिफारिश गरेका ट्रम्पले कवाना न्यायाधीश हुने पक्का भएको खबर सुनेपछि शनिवार राति एयर फोर्स वनभित्र दुईवटा बूढी औंला ठड्याएका थिए ।
कवानालाई सर्वोच्चका प्रधानन्यायाधीश जोन रोबर्टसले शपथ दिलाउनेछन् र त्यसअघि नै विरोधकर्ताहरूले अदालतका सिँढीमा कवानाविरुद्ध नारा लगाइरहेका छन् ।
कवानाले मंगलवारदेखि इजलास सम्हाल्ने अपेक्षा छ ।
द गार्डियनबाट