२२ जेठ २०८३, शुक्रबार

टर्कीस्थित साउदी कन्सुलेटमा मारिए साउदी पत्रकार

टर्कीस्थित साउदी कन्सुलेटमा मारिए साउदी पत्रकार

काठमाडौं — हराइरहेका साउदी अरबका पत्रकार जमाल खशोग्गीलाई इस्तानबुलस्थित साउदी कन्सुलेटमा हत्या गरिएको र उनको शरीरलाई पछि कम्पाउन्डबाट बाहिर लगिएको टर्कीका अधिकारीहरूले बताएका छन् । 

खशोग्गीको नियोजित हत्या गरिएको अनि हत्या गर्नैका लागि साउदी अधिकारीहरू रियादबाट इस्तानबुल आएको अधिकारीहरूको विश्वास छ । खशोग्गी साउदी कन्सुलेटमा आउने थाहा पाएपछि ती अधिकारीहरू त्यहाँ आइपुगेको बताइएको छ ।

खशोग्गी बहालवाला साउदी नेतृत्वका कटु आलोचक हुन् । 

उनी हराएको चार दिनसम्म मौन बसेका टर्कीका अधिकारीहरूले आइतवार प्रमाण पेश गरेर ती पत्रकार साउदी कन्सुलेटमा पारपाचुकेको दस्तावेजमा हस्ताक्षर गर्न पसेको केही क्षणभित्रै मारिएको सार्वजनिक गर्ने बताएका छन् ।
प्रमाणमा एउटा भिडियो फूटेज पनि छ र एउटा कालो कारमा जोड दिइनेछ । 

टर्कीका दुई अधिकारीहरूले रोयटर्स समाचार संस्थालाई ५९ वर्षीय खशोग्गी मारिएको दाबी गरे । रोयटर्समा आएको दाबीलाई सरकारका एक प्रवक्ताले फैलाएका थिए र अन्य धेरै अधिकारीहरूले पुष्टि गरेका थिए । केही अधिकारीले त खशोग्गीको लाश कसरी ठेगाना लगाइएको समेत आफूलाई थाहा भएको बताए । 

कैयौं अधिकारीहरूले चाहिँ कुनै पनि प्रमाण नदिइकनै खशोग्गीलाई मार्नुअघि यातना दिइएको आरोप लगाए । 

अधिकारीहरू १५ जना साउदीहरू हत्या गर्नैका लागि मंगलवार टर्की आएको र हत्या गर्नेबित्तिकै देश छोडेर हिँडेको बताउँछन् । 

टर्कीका राष्ट्रपति रेचेप तय्यीप अर्दोआनले यस विषयमा आइतवार एक वक्तव्य जारी गर्ने सम्भावना छ । 

साउदीहरूले चाहिँ घटनामा आफ्नो संलग्नता नरहेको बताउँदै सबै किसिमका अनुसन्धानमा सहयोग गर्ने र साउदी कन्सुलेटमा टर्कीका अधिकारीहरूलाई छिर्न दिने बताएका छन् । 

खशोग्गी साउदीको पुरानो सत्तानिकट थिए तर नयाँ राजाले आफ्ना छोरा मोहम्मद बिन सलमानलाई युवराज नियुक्त गरेको केही समयपछि देश छोडेर भागेका थिए । 

पछि उनी देशमा भइरहेको सुधार कार्यक्रमका केही पक्षको चर्को आलोचक भएका थिए र विशेषगरी राजनीतिक स्वतन्त्रतामाथि दमन र फरक मतप्रतिको असहिष्णुताको विरोध गर्थे । 

पारपाचुके दस्तावेजमा हस्ताक्षर गर्नका लागि साउदी कन्सुलेट पस्नुअघि उनले साउदी अधिकारीहरूबाट सुरक्षाको प्रत्याभूति मागेका थिए । उनले टर्केली प्रेमिकासँग विवाह गर्नका लागि पुरानी श्रीमतीसँग पारपाचुके गर्नैपर्ने थियो ।
उनकी प्रेमिका उनलाई कुरेर कन्सुलेटबाहिर बसिरहेकी थिइन् ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्