काठमाडौं। बेरोजगार युवाको कथामा निर्माण भएको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच दीपेन्द्र के. खनाल निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा पैसा नहुँदा युवाहरुलाई हुने समस्यालाई कमेडी तरिकाले प्रस्तुत गरिएको छ । आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री र रबिन्द्र झाले पैसा कमाउन गर्ने संघर्ष र रमाइलो चलचित्रले वाचन गर्ने ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ ।
ट्रेलरमा ‘चङ्गा चेट’ का पोष्टरमा नदेखिएका नयाँ कलाकारहरु पनि सार्वजनिक भएका छन् । अर्पण थापा, ऋचा शर्मा र वेनिशा हमाल लगायत कलाकार ʻचङ्गा चेटʼको ट्रेलरमा देखिन्छन् । चलचित्रमा आयुष्मान, सन्दिप, रविन्द्रका साथमा प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा र सुरक्षा पन्तको मुख्य भूमिका छ ।
चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन । निर्माता वाग्ले नक्कली नोट छापेको आरोपमा पक्राउ परेका थिए । पछि धरौटीमा छुटे पनि उनि अझै मुद्दा खेप्दै छन्। उनले यही चलचित्रको सुटिङका लागि नक्कली नोट छापेको दावी गर्दै आएका थिए ।
चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा राजनराज शिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत छ । चलचित्रमा निरक कँडेलको छायांकन, सूर्य ठोकरको द्वन्द्व र दिर्घ खड्काको सम्पादन रहेको छ ।
चलचित्रमा समावेश ʻगोजीमा दाम छैन’बोलको गीत हिट भइसकेको छ । चलचित्र कात्तिक १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।