३२ असार २०८३, बिहीबार

कंगनाले दिइन् सोनम कपूरलाई मुखभरिको जवाफ

कंगनाले दिइन् सोनम कपूरलाई मुखभरिको जवाफ

काठमाडौं — फिल्म निर्देशक विकास बहलमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि बलिउडका दुई शीर्ष अभिनेत्रीहरू कंगना रनावत र सोनम कपूरका बीच भिडन्त भएको छ । 

बहलले आफूसँग यौनका कुरा गरेको आरोप कंगनाले लगाएपछि सोनमलाई पत्रकारहरूले यसबारेमा सोधे । सोनमले कंगनालाई गम्भीरतापूर्वक लिन घरिघरि गाह्रो हुने बताइन् ।

यो जवाफले तिलमिलाएकी कंगनाले परिवारको दममा पहिचान बनाएको भनी व्यंग्य कसिन् । 

आइतवार सोनम बेंगलुरुको एक समारोहमा भाग लिन पुगेकी थिइन् । कार्यक्रम थियो वी द वीमेन । त्यहाँ नै उनलाई विकास बहलले गरेको यौन दुर्व्यवहारको आरोपका बारेमा सोधिएको थियो ।

सोनमले भनिन्, ‘कंगना के के भनिरहेकी हुन्छिन् र कहिलेकाहीँ उनलाई गम्भीरतापूर्वक लिन गाह्रो छ । कंगनामाथि जे भयो त्यो निराशाजनक र भद्दा थियो ।’

तर कंगनाको साहसबाट आफू प्रभावित भएको उनले बताइन् । 

सोनमको टिप्पणीपछि कंगनाले बयान दिइन्, ‘ए, सोनमले केही महिलालाई विश्वास गर्ने अनि केहीलाई नगर्ने लाइसेन्स पाएकी रहिछन् ? मेरो दाबीमा विश्वास नगर्ने उनी को हुन् ? म आफ्नो पिताका कारण चिनिएकी हैन । वर्षौंसम्म
संघर्ष गरेपछि मैले मानिसको विश्वास पाएकी छु ।’

कंगनाले त यसो पनि भनिन्, ‘सोनम न त उम्दा अभिनेत्री हुन्, न राम्रो बोल्न जान्दछिन् । यस्ता मानिसले मेरो मजाक उडाउने हक छैन ।’

क्वीन फिल्ममा कंगनाले विकास बहलसँग काम गरेकी थिइन् र फिल्म सेटमा बहलले उनीसँग सेक्सको कुरा गर्ने गरेको उनको आरोप छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्