२७ असार २०८३, शनिबार

ओली सरकारलाई पूर्वराष्ट्रपतिको प्रश्न : जमिनै नरहे रेल कहाँ कुद्ला ?

ओली सरकारलाई पूर्वराष्ट्रपतिको प्रश्न : जमिनै नरहे रेल कहाँ कुद्ला ?

काठमाडौं– पूर्वराष्ट्रपति डा. रामबरण यादवले चुरे पर्वतको संरक्षणमा पर्याप्त ध्यान दिन नसकिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

आफ्नो कार्यकालमा शुरु भएको ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’लाई प्रभावकारी कार्यान्वयन गर्न नसकिएको भन्दै पूर्वराष्ट्रपति डा. यादवले चुरे संरक्षण नभए देशको ३० प्रतिशत भू–भाग मरभूमिमा परिणत हुने बताए । 

उनले सडक सञ्जाल र रेलमार्गको विस्तारका क्रममा चुरेको भौगोलिक अवस्थालाई पनि ख्याल गरिनुपर्ने बताए । पुष्पलाल लोकमार्ग पछि मदन भण्डारी लोकमार्गको विस्तार गर्ने तयारी भइरहेका बेला त्यसले मध्य पहाडी क्षेत्र र खासगरी चुरे पर्वतमा पार्ने प्रभावबारे पर्याप्त अध्ययन हुनुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ छ । 

सोमवार राजधानीमा आयोजित ‘नेपालको शान्तिपूर्ण रुपान्तरणमो गान्धीको सान्दर्भिकता’ विषयक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले जमिनको संरक्षण नगरी रेल गुडाउन नसकिने बताए । 

यस्तै हिमालको हिउँको संरक्षण गर्न नसकिए केही वर्षमै भित्री मेधस र मधेसका जनताले पिउने पानीका लागि समेत भिड्नुपर्ने अवस्था सिर्जना हुने यादवको भनाइ छ । ‘हिमालको हिउँ रहेमात्रै नदीमा पानी रहन्छ,’ यादवले भने, ‘नदीमा पानी नै नरहे पानीजहाज कहाँ चलाउने ?’

महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा गान्धी अध्ययन तथा शान्ति केन्द्र नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले गान्धीको सत्याग्रह र नेपालको राजनीतिक रुपान्तरणको विषयमा समीक्षा गरे । 

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आपसी हित र भातृत्वका लागि गान्धी बिचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए । 
पूर्व सभामुख दमननाथ ढुङ्गानाले गान्धीको बिचार अबका युवा पुस्ताका लागि पनि उत्तिकै सान्दर्भिक हुने बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदिप गिरीले सशस्त्र संघर्षको तुलनामा शान्तिपूर्ण सत्याग्रहको बलमा भएको परिवर्तन दिगो र प्रभावकारी हुने गरेको बताए । नेपालमा सशस्त्र संघर्षमार्फत राज्यव्यवस्था परिवर्तन भएपनि कार्यपद्धति परिवर्तन हुने नसकेको बताए । 

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले गान्धी भारतमा जन्मेपनि पूरै विश्वका लागि आदर्श व्यक्तित्व भएको बताए । 

कार्यक्रमको सभापतित्व समेत ग्रहण गरेका भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले शान्तिपूर्ण संघर्षका मार्फत हुने परिवर्तन नै दिगो हुने बताए । उनले नेपालको शान्तिपूर्ण रुपान्तरमा गान्धीको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्