
काठमाडौं–उखु उत्पादक किसानले बक्यौताबापत पाउनुपर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न सरकारले सोमबार सम्बन्धीत उद्योगीलाई निर्देशन दिएको छ । चाडबाड नजिकिँदासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले पाँच दिनभित्र चिनी मिललाई भुक्तानी गर्न निर्देशन दिएको हो ।
अर्थ, कृषि तथा पशुपन्छी विकास, उद्योग तथा आपूर्ति, वन तथा वातावरण र सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिवको सोमबार सिंहदरबारमा बसेको बैठकले सो निर्देशन दिएको कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनालले जानकारी दिए । उक्त अवधि भुक्तानी नदिने उद्योगीलाई कारवाही गर्ने चेतावनीसमेत सरकारले दिएको छ ।
चिनी मिलले भुक्तानी नदिएपछि नेपाल उखु उत्पादक किसान सङ्घ, नेपाल उखु उत्पादक महासङ्घ, किसान हकहित समिति लगायतले आइतबार पत्रकार सम्मेलन गरी संयुक्त रूपमा सडक आन्दोलन गर्ने चेतावनी दिएका थिए । उद्योगले किसानलाई अपूरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको किसानको गुनासो छ ।
गुटका कारण नेकपाको एकता प्रक्रिया जटिल
पार्टीभित्रको आन्तरिक विवाद टुंगो लगाउन भन्दै सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बिना कुनै निश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक पार्टी विवादमा भन्दा नेताहरुको विदेश भ्रमणको ब्रिफिङमा केन्द्रित बन्यो ।
पार्टीभित्रको असन्तुष्टिका बारेमा बैठकमा छलफल गर्ने तयारी भएपनि बैठक रिर्पोटिङमा केन्द्रित भएको हो । तर, बैठकले आगामी बैठकका लागि कार्यसुची तयार गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सोमबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको असहमति पत्र पेश भएको छ । यो सँगै नेकपा भित्रको विवादले औपचारीकता पाएको छ ।
यता, नेपाल समाचारपत्रमा छापिएको खबर अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिँदै गएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको हो ।
विवाद चुलिँदै गएपछि सांगठानिक एकताको प्रक्रियाले गति लिन सकेको छैन् । असोज ५ गते सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद शुरु भएको छ । तीन महिनाभित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेपनि चार महिना बितिसक्दा समेत एकताको सुरुवात हुन सकेको छैन् ।
पार्टी एकताको क्रममा पूर्व एमाले र पूर्व माओवादी केन्द्र कसले नेतृत्व लिने रस्साकस्सी चलेको छ भने दुई पार्टीभित्र रहेको गुटको कारण पनि एकता प्रक्रिया जटिल बन्दै गएको नेकपाका एक नेताले बताए ।
सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन
गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख रहेका नायब महानिरीक्षकलाई सोमबार निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महीनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिए ।
मन्त्री थापाले चाडपर्व नजिकिएसँगै सीमाबाट हुने तस्करी बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिनसमेत बलका अधिकारीहरूलाई सचेत गराए । राज्यले बललाई सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै यो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न उनको निर्देशन छ ।
सांसद बन्ने तयारीमा वामदेव
नेकपाका नेता वामदेव गौतम काठमाडौंबाट चुनाव लड्ने तयारीमा छन् । उनका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने भएका छन् । डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् ।
वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएको सांसद रामवीर मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको जानकारी नेकपा उच्च स्रोतले दिएको छ ।
गुण्डा नाइकेलाई थुनामुक्त गर्ने निवेदन खारेज
सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले सोमबार बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो ।
यही असोज १७ गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशानुसार सर्वोच्च अदालतमा उपस्थित भएपछि बस्नेतको निवेदन खारेज गरेको हो । ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई मुस्ताङ कारागार पठाइएको थियो ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भारतबाट पक्राउ गरेर गत मङ्सिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा रोखेको थियो ।
रोयल्टी भुक्तानी गर्न विभागको पत्राचार
विद्युत् विकास विभागले कानूनअनुसार रोयल्टी रकम नतिर्ने दुई जलविद्युत् आयोजनालाई सात दिनभित्र भुक्तानी गर्न पत्राचार गरेको छ । विद्युत् विकास विभागले शिवानी हाइड्रोपावर र युनिक हाइडेल प्रालिलाई नियमानुसार रोयल्टी रकम उपलब्ध गराउन अन्यथा नेपाल विद्युत् प्राधिकरणबाट हुने भुक्तानी रकमसमेत नहुने जानकारी दिएको छ ।
विभागले यही असोज १८ गते ती दुई कम्पनीलाई पत्र लेख्दै तत्काल विद्युत् रोयल्टी रकम तिर्न भनेको हो । विभागका अनुसार विद्युत् उत्पादन शुरु भएदेखि हालसम्म ती जलविद्युत् आयोजनाले रोयल्टी रकम तिरेका छैनन् ।
सरकार र शिक्षकबीच तीन बुँदे सहमति
स्वतः स्थायी गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रेका राहत शिक्षक र शिक्षा मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ । सोमबार भएको सहमतिअनुसार संघीय शिक्षा ऐनअन्तर्गत राहत शिक्षकहरुलाई स्थायी गरी व्यवस्थापन गरिने छ । ४ बुँदे माग राख्दै ४० हजार राहत शिक्षकहरुले आफूहरुलाई सरकारी दायरामा नल्याएको भन्दै आन्दोलनमा उत्रेका थिए ।
सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल ट्रक व्यवसायी महासघंको सम्पत्ति राष्ट्रियकरण नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरी खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजालसले ट्रक व्यवसायीको सम्पत्ति तत्काल राष्ट्रियकरण नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले यातायात व्यवसायी समितिको नाममा रहेको सम्पत्ति रोक्का गर्दै राष्ट्रियकरण गर्ने प्रक्रिया थालेको थियो । सोको विरोधमा ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठले सर्वोच्च अदातलतमा रिट दायर गरेका थिए ।
सीके राउतविरुद्ध राज्य विरुद्धको अपराध मुद्दा
रौतहट प्रहरीले सीके राउतलाई राज्य विरुद्धको अपराधको मुद्दा चलाएको छ । उनलाई जिल्ला प्रहरीले सोमबार अदालत पेश गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिइएको छ । स्वतन्त्र र छुट्टै मधेशको वकालत गर्दै आएका र विभिन्न भड्किलो वक्तब्य दिँदै हिँडेका राउतविरुद्ध पटकपटक राज्यविरुद्धको अपराधका मुद्दा लगाइए पनि छुट्दै आएका छन् । जिल्ला अदालत गौरमा राज्य विरुद्धको अपराधकै मुद्दाको तारेख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई आईतबार साँझ पक्राउ गरेको थियो ।
पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता
पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएको छ । पिपिएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पिपिएललाई मान्यता दिएको जानकारी दिए ।
आइसिसीको मान्यता पाएपछि अब पिपिएलको आयोजकले आइसिसीलाई २० हजार अमेरिकी डलर रकमसमेत बुझाउनुपर्नेछ । “हामीले प्रतियोगिता सञ्चालनका लागि आइसिसीमा पत्र पठाएका थियौँ, आइसिसीले हामीलाई मान्यता दिएको छ”, आइसिसीको पत्र सार्वजनिक गर्दै प्रबन्ध निर्देशक लामाले भने ।
विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने
आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहान शुरु हुनेछ ।
यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।