०२ असार २०८३, मंगलबार

गरेन फण्डाले काम, चलेन ऋषि धमलाको फिल्म

गरेन फण्डाले काम, चलेन ऋषि धमलाको फिल्म

काठमाडौं – चलचित्र ʻअनुरागʼ चलाउन पत्रकार ऋषि धमलाले के मात्र गरेनन् ? चलचित्रकी नायिका आफ्नै श्रीमती एलिजा गौतमलाई आफैँले अन्तर्वाता लिए । चलचित्र प्रदर्शनमा आएदेखि हरेक दिनजसो कुनै न कुनै नेता तथा चलेका कलाकारलाई हलमा बोलाए ।

नेता र कलाकारसँग चिरपरिचित ऋषिको चलचित्र हेर्न चलेका नेता तथा कलाकार दिनैपिच्छे हलमा पुगे । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, कांग्रेसका नेता रामचन्द्र पौडेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासम्मलाई ऋषिले हलसम्म लगे ।

कलाकारहरू मदनकृष्ण श्रेष्ठ, भुवन केसी, रेखा थापा लगायतका चर्चित कलाकारहरु समेत ऋषिको आग्रह स्वीकार्दै हलसम्म पुगेर अनुराग हेरे । नेता तथा कलाकारले चलचित्र राम्रो बनेको भन्दै दर्शकलाई हेर्न समेत आग्रह गरे । तर के गर्नु, नेता र कलाकार दिनैपिच्छे हलमा पुगेर चलचित्र हेर्दा दर्शकले भने चलचित्र हेर्ने चेष्टा गरेनन् ।

हलमा दर्शक नआएपछि ऋषिको अपेक्षा थियो चलेका नेता र कलाकारले चलचित्र हेरेर चलचित्रका बारेमा दुई चार शब्द बोल्दा दर्शकहरू हलसम्म तानिन्छन् ।

असोज १२ गतेबाट प्रदर्शनमा आएको चलचित्र धेरै हलमा उत्रिसकेको छ । तर ऋषिले अझै दर्शकलाई चलचित्र हेर्न आग्रह गर्न छाडेका छैनन् ।

अब उनले भने यो कुरा पक्कै बुझिसकेको हुनुपर्छ, कलाकार र नेतालाई बोलाएर चलचित्र हेराउँदैमा दर्शकहरू हलमा आउँदैनन् । दर्शक तान्न त चलचित्र नै राम्रो बनाउनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्