०१ साउन २०८३, शुक्रबार

कालीगण्डकीमा पाइने शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै

कालीगण्डकीमा पाइने शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै

बागलुङ – शालग्राम भन्ने बित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन पुग्छन् । हिन्दू धर्मावलम्बीहरुका लागि यो पूजा गर्न योग्य पवित्र शिला हो । संरक्षणको अभावमा शालग्राम शिला हराउन थालेको छ । 

विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले पहल थालेको छ । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाममा शालग्राम संग्रहालयको निर्माण धमाधम भइरहेको छ । 

धार्मिक दृष्टिले अति नै महत्वपूर्ण मानिने शालग्राम शिलालाई संग्रहालयमा व्यवस्थित रुपमा राखिन थालिएको बालाजीधामले बताएको छ । हाल तिरुपती बालाजीधाममा रहेका २४ हजार शालग्रामलाई संग्रहालयमा राखिने भएको छ । 

भगवान् शिवको प्रिय अस्त्र मानिने त्रिशुल आकारमा भूगर्भ्भित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित रुपमा शालग्राम राख्न संग्रहालय बनाइने छ भने त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको नक्शा, विभिन्न मठ मन्दिरका आकृतिहरु, वृतचित्र प्रदर्शनी लगायतका कार्य गरिने छ । सुरुङको पहिलो खण्डमा त्रिवेणीधामदेखि दामोदर कुण्ड जाने नक्शा, बीच भागमा धौलागिरि हिमालसँगै शिवजीको मूर्ति राखिने छ । 

सुरुङको दोस्रो खण्डमा सिसाभित्र २४ हजार शालग्रामको दर्शन गर्न सकिने गरी राखिनेछ र ती शालग्रामलाई केशव, नारायण, माधव र गोविन्द लगायतका नाम दिइने छ । त्यस्तै, तेस्रो खण्डमा मुक्तिनाथ भगवान्को तपोभूमि तपस्यास्थल निर्माण गरिने छ । चौथो खण्डमा भगवान्हरुको मूर्ति प्रदर्शनी तथा मुक्तिनाथ मन्दिरको महिमा, शालग्राम र गण्डकीको महिमामा केन्द्रित वृत्तचित्र प्रदर्शन गरिने छ । 

साविकको धौलागिरि अञ्चल सदरमुकाम बागलुङ नगरपालिका–४ कुँुडुले फेदीस्थित रङ्गवेंकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट शालग्राम संग्रहालय निर्माण गर्न लागिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए । ‘कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम चोरी पैठारी हँुदा भविष्यमा शालग्राम हराउँदै जाने देखिँदा शालग्राम संरक्षणमा जुटेका हौं,’ उनले भने, ‘यस कार्यलाई पूर्णता दिन सबैको सहयोग आवश्यक छ ।’

मुक्तिनाथ जाने धार्मिक पर्यटकहरुलाई बागलुङ भित्र्याउन समेत यस शालग्राम संग्रहालयले ठूलो योगदान गर्ने बताइएको छ । करीब ४ करोडको लागतमा यसको निर्माण गर्न थालिएको हो । स्वामी प्रपन्नाचार्यले भने, ‘अहिले सुरुङ निर्माण अन्तिम चरणमा छ ।’ विशेषगरी मुक्तिनाथ मन्दिर आउन चाहने हिन्दू धर्मावलम्बीहरुका लागि यहाँ रहेका २४ हजार शालग्राम आकर्षण बन्ने अपेक्षा गरिएको छ । 

अबको एक महिनामा सुरुङ मार्गको काम सकिने र त्यसपछि अन्य भौतिक संरचनाको काम थालिने बालाजीधामले बताएको छ । ४ करोड रकम जुटाउन आफ्ना तर्फबाट सक्दो पहल भइरहेको स्वामी प्रपन्नाचार्यले बताए ।

हाल बालाजीधाममा स–साना शालग्रामदेखि ३०० किलोग्रामसम्मका शालग्राम संगृहीत छ । परापूर्व कालदेखि नै शालग्राम संगृहीत गर्दै आएका स्व. स्वामी श्रीधरचार्यको सपना पनि संग्रहालयको निर्माणबाट साकार हुने स्थानीय बासिन्दाले ठानेका छन् । 

‘धार्मिक पर्यटकहरु मुस्ताङको मुक्तिनाथ पुगे सरह यस संग्रहालय तथा मन्दिरमा आउँदा समग्र बागलुङ जिल्लाको पर्यटन क्षेत्रको विकास हुनेछ,’ समाजसेवी गोविन्द पौडेलले भने । मुक्तिनाथ जाने पर्यटकहरुलाई बागलुङ भित्र्याउन संग्रहालय तथा यस मन्दिरले ठूलो योगदान गर्ने उनको विश्वास छ । 

‘मन्दिरको आम्दानीको स्रोत केही छैन, सहयोगी दाताहरुले दिएको दानदातव्यको भरमा मन्दिर सञ्चालन भएको छ,’ मन्दिरलाई निरन्तर सहयोग गर्ने सहयोगीदाता सहदेव राजभण्डारीले भने, ‘संग्रहालय बनाउन सबैको सहयोग चाहिन्छ ।’

सुरुङ निर्माणको ठेक्का साउथ एशियन एन्फ्रास्ट्रक्चर निर्माण कम्पनीले पाएको छ । निर्माण कम्पनीका इन्जिनीयर नरोत्तम कार्कीका अनुसार सेमि–सर्कल प्रविधिमा निर्माण भइरहेको उक्त सुरुङ ३ मिटर उचाइ र ३ मिटर ७० सेन्टिमिटर चौडा छ । नदीहरुमा प्रशस्त मात्रामा पाइने शालग्राम लोप हुन थालेपछि यसको संरक्षणका बारेमा धार्मिक व्यक्ति र सम्बद्ध संघसंस्थाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् । 

हिन्दू धर्मावलम्बीहरुका लागि कालो रंगको बाटुलो शिला (ढुँगा) शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णवी र सनातनीहरुले शालिग्रामलाई साक्षात् विष्णुको अवतार मान्छन् । 

स्वामी श्रीधरचार्य शालग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणमा जीवन समर्पण गर्ने एक अभियन्ता मानिन्छन् । उनकै नामबाट संग्रहालयको नामकरण गरिने भएको छ । उनको २०५६ सालमा ३९ वर्षको अल्पायुमै निधन भएको थियो । आचार्यका मुक्तिक्षेत्र महात्माय, शालग्राम महात्माय, गोदा सप्तसरीलगायत २ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

salt training

कमेन्ट गर्नुहोस्