१३ असार २०८३, शनिबार

ढोका अड्याउन राखेको ढुंगा रहेछ उल्कापिण्ड, मूल्य सबा करोड रुपैयाँ

ढोका अड्याउन राखेको ढुंगा रहेछ उल्कापिण्ड, मूल्य सबा करोड रुपैयाँ

काठमाडौं — अमेरिकाको मिसिगनमा बस्ने एक व्यक्तिले ३० वर्षसम्म दश किलो पत्थरको टुक्रालाई अड्याएर ढोका बन्द गरिरहे । पछि पो थाहा भयो, त्यो त उल्कापिण्ड रहेछ । त्यसको मूल्य एक लाख डलर अर्थात् लगभग सबा करोड रुपैयाँ छ । 

सन् १९८८ मा उनले आफ्नो सम्पत्ति बेच्दा त्यो उल्कापिण्ड उपहारका रूपमा पाएका थिए । 

उल्कापिण्डका पुराना मालिकले उनलाई के भनेका थिए भने सन् १९३० को दशकमा उनले राति खेत खन्दै गर्दा त्यो पत्थर भेटेका थिए । त्यतिखेर त्यो तातो थियो । 

नयाँ मालिक भन्छन्, ‘मलाई यो पत्थर ठीकठाक आकारको लाग्यो । त्यसैले मैले त्यसलाई ढोका अड्याउन प्रयोग गर्न थालें । अहिले यसो सोच्दै गर्दा मैले यसको मूल्य पत्ता लगाउन चाहें ।’

त्यसपछि उनी पत्थर लिएर मिशिगन विश्वविद्यालय पुगे । त्यहाँ भूगोलशास्त्रकी प्राध्यापक मोनालिसा सर्बेस्कु पत्थरको आकार देखेर छक्क परिन् । उनले पत्थरको एक्सरे फ्लोरेसेन्स परीक्षण गराउने निर्णय लिइन् । 

अनुसन्धानपछि पत्ता लाग्यो, पत्थरमा ८८ प्रतिशत फलाम, ११ प्रतिशत निकल र केही मात्रामा भारी धातुहरू इरिडियम, ग्यालियम र सुन छ । मोनालिसाले पत्थरको अंश वाशिङटनस्थित स्मिथसोनियन इन्स्टिच्युट पठाइन् र त्यो
उल्कापिण्ड भएको पत्ता लाग्यो । 

एडमोर नामक स्थानमा भेटिएकाले त्यो उल्कापिण्डको नाम एडमोर नै राखिएको छ । यसलाई क्यालिफोर्निया विश्वविद्यालयको ग्रहविज्ञान विभागमा पठाइएको छ र त्यहाँ रासायनिक जाँच हुनेछ । 

मंगल र बृहस्पति ग्रहबीच अनेकौं उपग्रहहरूले चक्कर लगाइरहेका हुन्छन् । तिनबाट निस्केको टुक्रा नै उल्का हो । कतिपय अवसरमा उल्काहरू धर्तीको कक्षमा प्रवेश गर्छन् । साना उल्का त वायुमण्डलमै जलेर सकिन्छन् भने ठूला
उल्कापिण्डहरू धर्तीमा ठोक्किन आइपुग्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्