रोल्पा, १४ फागुन - नेपाल कम्युनिस्ट पार्टी (फेरिएको नाम) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्कालीन माओवादी र संसद्वादी दलले गरेको बृहत् शान्ति सम्झौता पुनरवलोकन गर्नुपर्ने माग गरेका छन् ।

थवाङमा यही फागुन ५ देखि १० गतेसम्म सञ्चालित पार्टीको आठौँ महाधिवेशनले पारित गरेका निर्णय सार्वजनिक गर्न आयोजित घोषणासभामा उनले शान्ति सम्झौताले गरेको परिकल्पनानुसार देश अगाडि बढ्न नसकेको जनाउँदै शान्ति सम्झौतापछिका गतिविधि गम्भीर ढङ्गले समीक्षा गर्दै सम्झौताका साझेदारबीच नयाँ ढङ्गले सहमति गर्नुपर्ने तर्क गरे ।
सभामा पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली, उमा भुजेल र पार्टी सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहालले मन्तव्य व्यक्त गरेका थिए । महाधिवेशनले पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राखेको छ । पार्टीले ६१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै आठौँ महाधिवेशन सम्पन्न गरेको छ ।