काठमाडौं — संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले राजीनामा दिएपछि उनको ठाउँमा आउने व्यक्तिका बारेमा विभिन्नखाले अनुमानहरू आएका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्काको नाम पनि उठिरहेको छ तर उनले आफू राजदूत नबने स्पष्ट पार्दै ट्वीट गरिसकेकी छन् ।
इभान्काका श्रीमान् ज्यारेड कुशनरको नाम पनि अघि आएको छ ।
ह्वाइट हाउसका गतिविधिको निगरानी गर्नेहरू हेलीको राजीनामाबाट आश्चर्यचकित भएका छन् । उनले राजीनामाको कुनै पनि कारण प्रस्तुत गरिनन् जसले गर्दा वाशिङटनमा अनेक किसिमका हल्ला फैलिए ।
ट्रम्प आफैंले छोरी इभान्का यो पदका लागि उपयुक्त रहेको बताए तर तत्कालै उनले आफूमाथि नातावादको आरोप नलागोस् भन्ने चाहेको बताए । उनले डिना पावेलको नाम लिए ।
पावेलले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा उपसल्लाहकारका रूपमा काम गरिसकेकी छन् ।
धेरै सञ्चारमाध्यमहरूले ट्रम्प प्रशासनका अज्ञात स्रोतहरूको नाम लिँदै पावेल नै राजदूत हुने बताएका छन् । अघिल्लो सप्ताहान्तमा उनलाई हेलीसँग दक्षिण क्यारोलाइनामा देखिएको थियो । हेलीले नै आफूलाई अन्तिम उम्मेदवारको
नाम लिन सहयोग गर्ने ट्रम्पले बताएका छन् ।
पावेललाई अहिलेका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बढी नै उदारवादी ठान्न सक्छन् । उनले पावेलको साटो रिचर्ड ग्रेनलको सिफारिश गर्न सक्छन् । गे्रनल अहिले जर्मनीका लागि अमेरिकी राजदूत छन् । यी दुवैले जर्ज डब्ल्यू
बुश प्रशासनमा राष्ट्रसंघमा अमेरिकाको प्रतिनिधित्व गरेका थिए ।
ट्विटर प्रयोगकर्ताहरूले चाहिँ गायक कान्ये वेस्टलाई दूत बनाउन सकिने समेत लेखेका छन् । वेस्टले ट्रम्पलाई समर्थन गरेर हालैका दिनमा खुबै आलोचना खेपेका छन् ।
आरटीबाट