
काठमाडौं — सन् २०१७ अक्टोबर १० अर्थात् आजभन्दा ठीक एक वर्षअघि मीटू अभियान सञ्चालनमा आएको थियो ।
एक वर्षको अवधिमा फरक फरक देशमा ५० भन्दा बढी पुरुषमाथि यौन दुर्व्यवहारको आरोप लाग्यो ।
तर कानूनी रूपमा अहिलेसम्म अमेरिकाका टीभी कलाकार बिल कस्बीले मात्र सजाय पाएका छन् । उनलाई १० वर्षको कारावास सजाय दिइएको छ ।
अमेरिकाका साथसाथै ८५ देशका महिलाले आफूमाथिको दुर्व्यवहारको बारेमा बताउन मीटू ह्याशट्याग प्रयोग गरिरहेका छन् ।
ठीक एक वर्षअघि न्युयोर्क टाइम्सले प्रकाशित गरेको एक अन्तर्वार्तामा १३ महिलाले हलिउड निर्माता हार्भे वाइन्सटीनविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाए । तर वाइन्सटीनले कुनै पनि महिलासँग सहमति विना सम्बन्ध नबनाएको दाबी गरे ।
असीभन्दा अधिक महिलाले वाइन्सटीनमाथि आरोप लगाएका थिए । सन् २०१८ मे २५ मा प्रहरीले उनलाई पक्राउ गरेको थियो र अहिले उनको मुद्दामा सुनुवाइ चलिरहेको छ ।
हलिउड अभिनेत्री अलिसा मिलानोले सन् २०१७ अक्टोबर १५ मा मीटू ह्याशट्यागका साथ आफ्नो पीडा सुनाइन् । यो ह्याशट्यागका साथ पाँच लाखभन्दा बढी ट्वीट गरिए । त्यसपछि मीटू अभियान पूरा अमेरिकामा छायो ।
मीटू अभियान शुरू भएपछि सन् २०१८ जनवरी २८ मा भएको ग्रामी अवार्ड्समा आएका सहभागीले लैंगिक समानताको समर्थनमा सेतो गुलाफ भिरे । नोबेल साहित्य पुरस्कार पनि मीटू अभियानको समर्थनमा यसपालि कसैलाई पनि दिइएन ।
एजेन्सी