
काठमाडौं — बेलायतमा सांसदहरूको कार्यालयमा प्रयोग गरिएका कन्डम र बान्ताको दाग अत्यधिक भेटिन थालेपछि सफाइ कर्मचारीहरू रिसाएको सन्डे टाइम्सले लेखेको छ ।
सांसदहरूले आधिकारिक काम गर्नुभन्दा पनि कार्यालय फोहर पार्नमा ध्यान दिएको भनी सफाइ कर्मचारीले आरोप लगाए ।
टाइम्सको रिपोर्टअनुसार, सांसदहरूको यो हर्कतका लागि कडा कारवाही गरिने भएको छ ।
गर्डियन पत्रिकाले पनि एक रिपोर्ट प्रकाशित गरेर सांसदहरूको अनियन्त्रित व्यवहारका बारेमा लेखेको छ ।
अघिल्लो वर्ष वेस्टमिन्स्टर यौनकाण्ड चर्चामा रहेको थियो । त्यतिखेर संसद्को खेल र सामाजिक संघ व्यवस्थापकले आफूलाई एक सांसदले शारीरिक सम्बन्ध बनाउन दबाब दिएको आरोप लगाएकी थिइन् ।
ती सांसदले आफूलाई पछ्याएको र जिस्क्याएको उनको आरोप छ । त्यो खुलासापछि संघलाई बन्द गरियो र नयाँ व्यवस्थापन ल्याइयो ।
यौन दुर्व्यवहारको स्पष्टीकरण दिनका लागि कैयौं सांसदहरूलाई बोलाइएको थियो जसमध्ये सबभन्दा प्रख्यात रक्षासचिव सर माइकल फोलन थिए । उनले महिलाप्रतिको आफ्नो व्यवहार स्वीकारेर राजीनामा दिएका थिए ।
फोलनका सहकर्मी डेमियन ग्रीनले पनि कम्प्युटरमा अश्लील सामग्री राखेको पाइएपछि राजीनामा दिएका थिए ।