
काठमाडौं — अमेरिकाको फ्लोरिडा प्यानह्यान्डलमा बुधवार आएको माइकल आँधीको चपेटामा परी दुईजनाको मृत्यु भएको छ भने कैयौं भवनहरू भत्केका छन् ।
आँधी जर्जिया र क्यारोलाइनातर्फ बढेको छ ।
आँधीका कारण १५५ माइल प्रतिघन्टाको दरले हावा चलेको छ । सन् १९९२ मा एन्ड्रु आँधीले दक्षिणी फ्लोरिडालाई ध्वस्त बनाएयता अमेरिकामा आएको यो सर्वाधिक शक्तिशाली आँधी हो ।
फ्लोरिडाका गभर्नर रिक स्कटले यस्तो शक्तिशाली आँधीले उक्त क्षेत्रमा एक शताब्दीभन्दा बढीदेखि नआएको बताए । विज्ञहरूले मानिसका कारण भएका जलवायु परिवर्तनले खतरनाक आँधीहरू नियमित रूपमा तथा तीव्र रूपमा
बढाएको बताएका छन् ।
‘समुदायहरूमा कल्पनातीत विनाश आउनेछ,’ स्कटले चेतावनी दिए ।
आँधीका कारण दुईजनाको मृत्यु भएको छ । फ्लोरिडाको गाड्सेन काउन्टीमा एउटा रुख ढलेर किचेपछि एकजना मारिएका छन् । रुख ती व्यक्तिको घरको छतलाई भत्काउँदै ढलेको थियो ।
जर्जियाको सेमिनोल काउन्टीमा एउटा घरमा पुगेका बालक पनि कुनै सामान घरमा खसेपछि थिचिएर मारिएका छन् । आफूहरू उक्त घरमा पुग्न नसकेका कारण बालकको मृत्युका विषयमा स्पष्ट हुन नसकेको अधिकारीहरूले
बताएका छन् ।
क्याटेगोरी ४ को आँधीले प्यानह्यान्डलमा अहिलेसम्म प्रवेश गरेको थिएन र माइकलको विशाल आकारका कारण यसको असर न्यु ओर्लीन्सदेखि टाम्पा बे तटीय इलाकासम्म र जमीनमा चाहिँ दुवै क्यारोलाइना राज्यसम्म पुगेको छ ।
द गार्डियनबाट