०२ असार २०८३, मंगलबार

कमजोर कथा, बलिया संवाद : लूट २ समीक्षा

कात्तिक २०, २०७४
कमजोर कथा, बलिया संवाद : लूट २ समीक्षा
कुनै पनि चलचित्रको घटनाक्रम द्वन्द्व सँगसँगै अगाडि बढेको हुन्छ, चाहे त्यो आन्तरिक होस् चाहे बाह्य । चलचित्रको अन्त्यसम्ममा दर्शकलाई अब के होला भन्ने जिज्ञासा जगाउन सकियो भने फिल्म चाखलाग्दो बन्छ ।

लगभग चार वर्षअघि सुपरहिट चलचित्र ‘लूट’ ले धेरै दर्शकको मन जित्यो । समीक्षकबाट राम्रो समीक्षा पनि पायो । निर्देशकले यसको सिक्वेल ‘लूट २’ को चार वर्षपछि निर्माण गरे । यो समयावधिमा धेरै परिवर्तन भए । थुप्रै घटनाक्रम फेरिए । नाकाबन्दी र भूकम्पले देश प्रताडित भयो । कालोधन्दा गर्नेहरू मोटाउँदै गए ।

चलचित्र ‘लूट’ गोफ्ले, नरे, देवेन र पाण्डे पनि भूकम्पको फाइदा उठाएर चार वर्षपछि जेलबाट भागे । नाकाबन्दीले हाकु कालेलाई मालामाल गरायो ।

जेलबाट भागेका गोफ्ले (दयाहाङ राई), नरे (कर्मा), देवेन (प्रतीकराज न्यौपाने) र पाण्डे (सुशीलराज पाण्डे) महिनौंदेखि हाकु काले (सौगात मल्ल) को खोजीमा छन् । उनीहरूलाई हाकुसँग बदला लिनु छ । चार चार वर्षसम्म जेलमा बस्नुको सबै दोष हाकुकै छ भन्ने ठहरमा यी चार पात्र हाकुको खोजीमा छन् ।

कोट र दौरा सुरुवाल मात्र लगाउने हाकु कालेको आर्थिक स्तर सुध्रिसकेको छ । उसको जीवन भट्टीभन्दा माथि उठेको छ । पुतली (सृजना सुब्बा) सँगको उसको जीवन आर्थिक रूपमा सुखी भएको छ । अङ्ग्रेजी भाषासँग पनि हाकुको बडो झुकाव छ । उसका सपना स्थुल बन्दै गएका छन् ।

निर्देशकले यो कुरालाई ध्यान दिएर प्रमुख पात्रको चरित्र विकास गरिदिएका हुन् । सौगात मल्लले पनि आफ्नो ‘हाकु काले’ को भूमिकालाई आकर्षक ढंगले अभिनयमा बाँधेका छन् ।

चलचित्र मध्यान्तरसम्म गज्जबको छ । सस्पेन्स चलचित्र भनिएको आधारमा घटनाक्रमको उद्घाटन पछि हेर्न पाइन्छ कि भन्ने आशा गरिन्छ । तर मध्यान्तरपछि भने चलचित्रले बिस्तारै आफ्नो लय गुमाउँदै जान्छ । पात्रहरूको जोश उही रहेजस्तै पनि लाग्छ, अनि जोश नै गुमाए जस्तो पनि लाग्छ । के कुराले चलचित्र मत्थर हुँदै गयो भन्नेमा दर्शक आफैं अलमल पर्न सक्छन् ।

चलचित्र कमजोर बन्दै जानुको कारण यसको मूलकथा हो । जुन गतिमा मध्यान्तरभन्दा अघि कथा बगेको छ त्यो गति समातिरहन सकेको भए फिल्म धेरै उत्कृष्ट हुने थियो । निर्देशक निश्चल बस्नेत यहाँनिर चाहिँ चुकेका छन् ।
चलचित्रका धेरैजसो संवाद भने चोटिला लाग्छन् । पात्रको स्वभाव प्रयोग गर्ने साधारण संवादले दर्शकलाई बेलाबेलामा हँसाइरहनु चलचित्रको सबल पक्ष हो ।

दोहोरो अर्थ लाग्ने संवाद दर्शकका लागि स्वाभाविक लाग्छन् किनकि हाम्रै समाजवरिपरि बोलिने भाषालाई पात्रअनुसार प्रयोग गरिएको छ । दर्शक पर्दामा भुल्ने बाटो संवाद पनि हो । कलाकारको अभिनय उत्कृष्ट छ । पात्रले आफ्नो भूमिकालाई कुशल रूपमा प्रयोग गरेका छन् । सौगातले आफ्नो भूमिकालाई न्याय दिएका छन् । पूरै कथा हाकुकै वरिपरि घुम्छ । कतिपय दृश्य भने भद्दा लाग्छन् ।
चलचित्रको छायांकन पक्ष सुन्दर लाग्छ । पुरुषोत्तम प्रधानले लामा लामा शटलाई पनि कलात्मक रूपमा क्यामेराको फ्रेममा कैद गरेका छन् । उनको काम प्रशंसनीय छ । र, चलचित्रको संगीत पक्ष पनि राम्रो लाग्छ । ब्याकग्राउन्ड म्युजिक ‘लूट २’ को अर्को प्रशंसा हो ।

पात्रको मनोविज्ञान, कमाउँदै जाँदा बिस्तारै बढ्दै गएको अङ्ग्रेजी मोह, जीवनशैली आदिको समायोजन मिलेपनि चलचित्रमा केही नमिलेको हो कि भन्ने अभाव खड्किरहन्छ ।

कथानकमा बस्नेत चुकेका छन् । तर संवाद जनबोलीको चयन गरेका छन् ।

चलचित्रको अर्को कमजोर पक्ष के हो भने कतिपय दृश्य त पुरानो चलचित्र ‘लूट’ बाटै लिइएको हो कि झैं पनि लाग्छन् । देवेनको प्रेमलाई अल्झाइएको छ । कथानक जब बिस्तारै बदलाबाट बैंक लुट्ने उद्देश्यतिर मोडिन्छ, पात्रहरू एकाएक सेलाउन थाल्छन् । हाकुसँग बदला लिन रगत चुसेको बाघझैं गरेका पात्रहरू एकाएक सेलाउँछन् । कथा कमजोर बन्दै जान्छ ।

यद्यपि मनोरञ्जनका लागि चलचित्र हेर्न हलसम्म जाँदा तपाईंलाई दिक्क भने लाग्ने छैन । एक्सन र हास्य रसले चलचित्रलाई ‘स्वादिष्ट’ बनाएको छ । तर ‘लूट’ का तुलनामा यसको सिक्वेल केही कमजोर देखिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्