
धनगढी –बेलुका भयो कि ‘फटक ट्वाङ घरौनाऽऽऽ, ट्वाङ घरौनाऽऽऽ लगायत ताल समेटिएको मादलको आवाज गुञ्जिन थालिहाल्छ । अनुमान लगाउन गाह्रो हुँदैन थारु बस्तीमा सखिया नाचको रिहल्सल हुँदैछ भनेर ।
दशैंतिहारको आगमनसँगै उक्त परम्परागत सखिया नाचको रिहल्सल शुरू भएपछि आजभोलि थारु बस्तीमा उक्त नाचको रौनक बढेको छ । जताततै रिहल्सल हुन थालेपछि मादलको आवाजले बस्ती नै गुञ्जयमान बनेका छन् ।
सखिया नाच विशेषगरी दशैं र तिहारमा नाच्ने प्रचलन रहिआएको छ । जसलाई लक्षित गरी नाचको तयारी भइरहेको जनाइएको छ । बेलुकाको खाना खाइसकेपछि फुर्सदको समय सदुपयोग गरी नाच्ने युवतीहरू, मादल बजाउने युवा र हेर्न जानेहरूले गर्दा बस्ती नै उल्लासमय बन्दै गएको धनगढी उपमहानगरपालिका–१६ भादाकी गौरी चौधरीले बताइन् ।
उनले केही दिनदेखि बेलुकाका समयमा तयारी भइरहेको जानकारी गराउँदै गाउँघरमा सखियाको रौनक थपिँदै गएको बताइन् ।
उनले भनिन्– ‘सखिया प्रत्येक चाडपर्व, मेला, महोत्सवमा सामान्य जस्तै छ, आजभोलि बाह्रैमास नाचिन्छ । तर दशैंमा विशेष रूपमा नाचिने भएकोले रिहल्सल भइरहेको छ । सोही कारण मादलको तालले गाउँघरमा रौनक बढेको छ ।’
उनले सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने बताइन् । तर कुनै–कुनै गाउँमा महिलाले पनि मादल बजाएर युवतीलाई नचाउने गरेको उनको भनाइ छ ।
सखिया नाचको थारु समुदायमा आफ्नै ऐतिहासिक विशेषता रहिआएको छ । चाहे यसको शुरूआती अवस्था होस्, चाहे पहिरन या नाच्ने विधि ।
सबै खण्डमा अर्थपूर्ण महत्त्व रहेको बताउँछन् जानकी गाउँपालिका–६ का स्थानीय भागीराम चौधरी । नाचको शुरूआत गर्नुपूर्व विशेष किसिमको पूजा गर्नुपर्ने बताउँदै उनले भने– ‘यो नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन गुरुवाले गाउँको देवताको पूजा गर्छन् ।’
सखिया नाच नाच्नका लागि युवतीहरूको समूहमा एक जना अगुवा (मोरिन्हृया) रहने र मादल बजाउने युवामा पनि एकजना अगुवा रहने गर्छन् । यो नाचमा भगवान श्रीकृष्णको लीलामा आधारित गीत गाएर शास्त्रीय नृत्य हुने गर्छ ।

सखिया नाच र पैंया गरी दुई चरणमा हुने गरेको भागीरामले बताए । टाढा–टाढाबाट आउने पाहुनालाई स्वागत गर्नका लागि सखिया नाच विशेष गरेर दशैंको टीकाको दिन नाच्ने चलन रहेको पनि उनले जानकारी दिए ।
गाउँको अगुवा भल्मन्साको घरमा एक महिनासम्म नाचिने सखिया नाच दशैंको टीकाको दिन भने घर/घरमा गएर नाच्ने गरिन्छ ।
यसले पर्वमा छुट्टै रौनक थप्ने गरेको थारु बुद्धिजीवी प्रभातकुमार चौधरीले बताए ।
सबैको लोकप्रिय सखिया नाच थारु समुदायको मौलिक पहिचान रहेकाले यसलाई निरन्तर जीवन्त राख्न आवश्यक रहेको थारु बुद्धिजीवीहरूको जोड छ ।
कतिपय युवा पुस्ता सखिया छोडेर डिजे डान्समा रमाउने परिपाटीले परम्परागत नाचमा धक्का पुग्ने खतरा रहेको चौधरीले बताए ।
अधिकांश बस्तीमा सखियाको रौनक बढिरहेको बेला केही ठाउँ भने अझै सुनसान देखिएको छ ।
पाकेको धान काट्ने र घर लिपपोत गर्ने चटारोका साथै बस्तीमा मदाल बनाउने र बजाउन जान्ने मान्छेकै कमी हुन थालेपछि यसको अस्तित्व संकटमा पर्ने चिन्ता बढेको छ ।