०४ असार २०८३, बिहीबार

युवा संघका जिल्ला अध्यक्ष तिवारीको हत्यामा १२ जनाको संलग्नता, यस्तो थियो अपराध योजना

कात्तिक २०, २०७४
  युवा संघका जिल्ला अध्यक्ष तिवारीको हत्यामा १२ जनाको संलग्नता, यस्तो थियो अपराध योजना
काठमाडौं, १५ फागुन — जिल्ला प्रहरी कार्यालय रुपन्देहीले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई आइतवार सार्वजनिक गरेको छ । उनीहरूले कसरी योजनाबद्ध तरिकाले तिवारीको हत्या गरे भन्ने विषय पनि प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

गत पुस ४ गते दिउँसो रुपन्देहीको देवदहमा तिवारीको गोली हानी हत्या गरिएको थियो । उनको देवदह मेडिकल कलेजमा उपचार गर्दागर्दै ज्यान गएको थियो ।

हत्या यसरी भयो
४० वर्षका तिवारी लु २५ प ८४४१ नम्बरको मोटरसाइकल चलाएर खुशी पौडेलसँग देवदह नगरपालिकाको कार्यालयतर्फ गइरहेका थिए । सोहीबेला यकिन हुन नसकेको पल्सर मोटरसाइकलबाट पछ्याइरहेका दुईजनाले तिवारीमाथि गोली हानेका थिए । मोटरसाइकलको पछाडि बस्नेले तिवारीलाई गोली हानेका थिए ।

रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेका अनुसार घटना भइसकेपछि प्रहरीले आफ्नो अप्रेसनलाई तुरुन्त सञ्चालन गरेको थियो । प्रहरीले सोही दिन रोहेणीपुलबाट बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद गरेको थियो ।

सोही दिनकै साँझ देवदह नगरपालिका वडा नम्बर ६ का छविलाल मगरका छोरा मनोज पुन मगरले विभिन्न व्यक्तिलाई फोन गरी तिवारी हत्याको जिम्मा लिएका थिए ।

प्रहरीका अनुसार मनोजले व्यक्तिगत दुश्मनीका कारण मनोजको हत्या गरेका थिए ।

१२ जनाको अपराधिक समूह

तिवारीको हत्यामा १२ जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाउँछ । घटनाका मुख्य योजनाकार २९ वर्षीय मनोज नै हुन् । उनी सो घटनापछि फरार रहेका छन् ।

‘रुपन्देहीकै विकास भन्ने सोमबहादुर आले घटनाका योजनाकार थिए । बाराका श्याम गुरुङ घटनाका अर्का योजनाकार थिए । मनोजसहित यी दुई योजनाकार फरार छन्,’ डिएसपी पाण्डेले भने ।

त्यस्तै घटनामा राजु नाम गरिएका व्यक्तिलाई तिवारीमाथि गोली प्रहार गर्ने भूमिका दिइएको थियो । त्यस्तै देवदहका तुलबहादुर सिँजालीले चाहिँ हतियार राख्ने/दिने गरेर सहयोग गरेका थिए ।

मुख्य भूमिकामा रहेका यी पाँचजना फरार छन् । अहिले उनीहरू भारतमा लुकेर बसेको अनुमान प्रहरीले गरेको छ । यीबाहेक घटनामा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।


को को हुन बाँकी सातजना ?
देवदहकै ३१ वर्षीय वसन्तबहादुर चापागाईं घटनामा संलग्न अर्का अभियुक्त हुन् । उनले घटनाको दिनभर पुनको निर्देशनबमोजिम तिवारीको गतिविधिमा निगरानी गरेका थिए ।

तिलोत्तमा नगरपालिकाका बुद्धिसागर यादव पनि घटनाका अर्का अभियुक्त हुन् । उनले घटना गराउने उद्देश्यले निर्देशनअनुसार सागर थापाले ल्याएको बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल लुकाई छिपाई आफ्नो घरमा राखिदिएका थिए । घटना हुँदाको दिन उनले सो मोटरसाइकल आफ्नो भाई राजेश यादवसँग पठाएका थिए ।

अर्का अभियुक्त हुन् राजेश यादव । तिलोत्तमा नगरपालिकामा घर भएका उनले दाजु बुद्धिसागर यादवले घरमा ल्याएर राखेको सो मोटरसाइकललाई रोहिणी पुलमा लगेर सागर थापाको जिम्मामा लगाएका थिए ।

तिलोत्तमाकै ३३ वर्षीय खेमानन्द भट्टराई अर्का अभियुक्त हुन् । उनले पुनको निर्देशनबमोजिम सोही दिन बिहान शूटरलाई आफ्नो लु २८ प २११९ नम्बरको मोटरसाइकलमा राखेर रोहिणी पुलसम्म लगेका थिए ।

घटनापश्चात् शूटर तथा सागर थापालाई सोही मोटरसाइकलमा रोहिणी पुलबाट मणिग्रामसम्म लगेका थिए । त्यसबेला सागर थापाको सिम उनले भाँचिदिएका थिए भने शूटरलाई पोखरातर्फ र सागरलाई पाल्पा हुँदै गुल्मीतर्फ पठाएका थिए ।

अर्का अभियुक्त देवदहका २३ वर्षीय सागर थापा हुन् । उनले राजेश यादवसँग मोटरसाइकल रिसिभ गरी शूटरलाई मोटरसाइकलको पछाडि बसाली देवदह खैरेनीतर्फ गई साइकल पसलबाट पौडेल मिष्ठान्न भण्डार अगाडि रहेका तिवारीलाई वाच गरेका थिए ।

त्यसपछि तिवारी मोटरसाइकलमा जाँदै गरेको अवस्थामा उनको पिछा गरी देवदह–८ स्थित कोलिया मार्गमा पुगेको बेलामा तिवारीले चलाएको मोटरसाइकलभन्दा आफूले चलाएको मोटरसाइकल केही अगाडि लगेका थिए ।

त्यहीबेला तिवारीलाई गोली हानी सेमराना हुँदै रोहिणी पुलमा पुगी मोटरसाइकलमा रोहिणी पुलमा छाडी खेमानन्द भट्टराईको लु २८ प २१ १९ नम्बरको मोटरसाइकलमा मणिग्रामतर्फ गई सो दिन उनी पाल्पातर्फ लागेका थिए ।

अर्का अभियुक्त हुन् परासीका २८ वर्षीय अगंद थारू । उनले हातहतियार ओसार्ने तथा फिरौती रकम पठाउने काम गरेका थिए । त्यस्तै देवदहका ऋषीश्वर कुमालले पनि हातहतियार संकलन तथा फिरौती रकम पठाउने काम गरेका थिए ।

साथै प्रहरीले सो घटनामा थप स्थानीय तथा बाहिरी मानिसको समेत संलग्नता भएको हुनसक्ने अनुमान गरेको छ । साथै प्रहरीले निज मगरलाई सहयोग नगर्न र उनको बारेमा केही जानकारी भएमा आफूलाई उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

मगरले त्यसभन्दा अघि पनि तिवारीमाथि इँटाभट्टामा गोली प्रहार गरेका थिए । त्यसबेला बाँचेका तिवारीको उनले पुसमा हत्या गरेका हुन् । उनीहरूबीच लामो समयदेखि दुश्मनी रहँदै आएको स्थानीयहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्