काठमाडौं — अभिनेत्री दीपिका पादुकोण बलिउडकी सबभन्दा दमदार अभिनेत्रीमध्ये एक मानिन्छिन् ।
मिडियाको तीखो प्रश्नको सामना गर्दा वा कुनै स्टारले भनेको अप्रिय कुराको मुखभरि जवाफ फर्काउँदा होस्, दीपिकाले प्रभावित पारिरहेकी हुन्छिन् ।
तर कुनै समयमा दीपिकाको दिमागमा भोलिपल्टको बिहान देख्न नपाए हुन्थ्यो भन्ने सोच पनि हुर्केको थियो ।
दीपिकालाई त्यतिखेर डिप्रेसन भएको थियो । उनले आफ्नो डिप्रेसनको कुरालाई जहिले पनि खुलेर शेयर गर्ने गरेकी छन् । उनी त्यतिखेरको कुरा सम्झेर भावुक हुन्छिन् र रुन्छिन् । त्यतिखेर हरेक दिन उनका लागि संघर्षका रूपमा रहेको उनको भनाइ छ ।
दीपिकाले हालै लिभ, लभ एन्ड लाफ फाउन्डेसनका लागि एउटा भिडियो शूट गराइन् । त्यसमा उनले डिप्रेसन हुँदाका दिनको सम्झना गरेकी छन् ।
उनले भनिन्, ‘म आफूले भोगेको पीडा कसैलाई पनि सुनाउन चाहँदिनथें किनकि कसैले पनि मलाई बुझ्छ जस्तो लाग्दैनथियो । मैले त्यतिखेर अनुभव गरेको कुरा शब्दमा बयान गर्न सक्दिनँ । मलाई निद्राबाट ब्युँझन समेत डर लाग्थ्यो ।
ब्युँझेपछि संसारलाई अनि आफूभित्र हुर्किरहेको सोचलाई सामना गर्न म डराउँथें ।’
उनी थप्छिन्, ‘भावनाहरूका साथ संघर्ष गर्ने क्रममा मैले संसारका सामु हँसमुख राख्नुपर्ने हुन्थ्यो । म रुन चाहन्थें तर मानिसले के भन्लान् भनी म आँसु रोकेर बस्थें । व्यस्त अभिनेत्री भएका कारण मैले नर्भस ब्रेकडाउनका लागि समय
निकाल्न पनि पाइनँ । हरेक दिन नयाँ कार्यतालिका बन्दा झनै अप्ठ्यारो हुन्थ्यो ।’
एजेन्सी