
आदिस अबाबा–इथोयोपियाका प्रधानमन्त्री अबिय अहमदले मन्त्रिपरिषदको आकार सानो बनाउने घोषणा गरेका छन् । तर उनले मन्त्रिपरिषदका आधा सदस्य महिला राखेका छन् ।
बीस सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको अबियका प्रमुख अधिकृत फिटसम आरिगाले बताए । उनले नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयको साथै सङ्घीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी महिलालाई दिएको जानकारी दिए ।
“शान्ति, व्यापार तथा उद्योग, र रक्षा मन्त्रालय समेतका महत्वपूर्ण मन्त्रालयहरु महिलालाई दिइएको छ,” आरिगाले बताए ।
राष्ट्रिय रक्षा मन्त्रालयमा आइसा मोहम्मदलाई जिम्मेवारी दिइएको छ र यो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने उनी पहिलो महिला हुन् ।
संसदमा पूर्व सभामुख रहेकी मुफेरियात कामिललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए, जसमा पाँचजना मात्र महिला थिए ।
गत अप्रिलमा कार्यभार सम्हालेयता प्रधानमन्त्री अबियको यो पछिल्लो नाटकीय परिवर्तन हो । दुई वर्षदेखि सरकार विरुद्ध प्रदर्शन भएपछि पूर्व प्रधानमन्त्रीले राजीनामा गरेलगत्तै अबिय नयाँ प्रधानमन्त्री चुनिएका थिए ।
प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रियासँगको दुई दशकदेखि जारी द्वन्द्वलाई समाप्त गरेका थिए ।