
काठमाडौँ–शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहाल मृत अवस्थामा फेला परेका छन् ।
५१ वर्षीय दाहाल एक कार्यक्रमका लागि अमेरिका गएकामा सोमबार राती होटलको कोठामा मृत अवस्थामा फेला परेको परिवारले जनाएको छ ।
मृत्युको कारणबारे त्यहाँ थप अध्ययन भइरहेको काठमाडौं विश्वविद्यालयका शिक्षा सङ्कायका डीन डा महेशनाथ पराजुलीले जानकारी दिए ।
राति होटलमा सुतेको अवस्थामा निधन भएको र उनको नाकबाट रगत बगेको पाइएकाले उनलाई हृदयाघात भएको अनुमान गरिएको छ ।
काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आएका उनी हाल त्यहाँ अध्यापनरत समेत थिए ।
दाहालको निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि शव अन्त्येष्टिका लागि नेपाल ल्याइनेछ । उनका श्रीमती र तीन छोरा छन् ।