०७ साउन २०८३, बिहीबार

विपक्षी टीमबाट भाल्भेर्देलाई सन्देश– मेस्सीलाई नचिढ्याउनुमै तपाईंको भलाई होला !

विपक्षी टीमबाट भाल्भेर्देलाई सन्देश– मेस्सीलाई नचिढ्याउनुमै तपाईंको भलाई होला !
Photo : TEAMtalk

काठमाडौं – सेभियाका स्पोर्टिङ निर्देशक योआक्विन कापारोसले लियोनेल मेस्सीलाई चिढ्याउनु काललाई निम्त्याउनु जस्तो भएको चेतावनी दिएका छन् । 

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्देलाई सीजनको शुरूआत सुस्त भएकोमा आलोचना गरिएको छ । बार्सा शीर्ष स्थानमा रहेको सेभियाभन्दा एक अंक पछाडि परेको छ र उसको अर्को खेल सेभियासँग क्याम्प नूमा छ । 

यस सीजनमा सबभन्दा ठूलो कुराकानीको विषय एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरी खेल्ने क्रममा भाल्भेर्देले मेस्सीलाई बेन्चमा राख्ने निर्णय लिएका थिए । 

उक्त निर्णयको कडा आलोचना भएको थियो किनकि मेस्सीले बेन्चबाट आएर टीमका लागि बराबरीको गोल गर्न असिस्ट गरेका थिए । 

बार्साले आफ्नो उच्च मापदण्डअनुरूपको खेल देखाउन नसकेपछि भाल्भेर्देमाथि ठूलो दबाब छ । त्यसैले भाल्भेर्देले मेस्सीलाई चिढ्याउनु बुद्धिमानी निर्णय नभएको कापारोसको विश्वास छ ।

‘मेस्सीलाई चिढ्याउन हुँदैन,’ कापारोसले रेडियो मार्कालाई बताए, ‘मेस्सी सिंहजस्ता हुन् । सिंहलाई पहिला सुम्सुम्याउनुपर्छ अनि मात्र उसको मुखमा तपाईं हात हाल्न सक्नुहुन्छ र उसले टोक्दैन । तर तपाईंले उसको पञ्जालाई छुनुभयो भने सिंहले तपाईंको टाउको छिनाइदिन्छ ।’

बार्सिलोनामा मेस्सीको प्रभावका बारेमा विगतमा पनि धेरै कुरा लेखिसकिएको छ । पुराना प्रशिक्षक लुइस अनरिकेसँग उनको मनमुटाव प्रसिद्ध भएको थियो । 

अनि पाँचपटक बलोन दोर जितिसकेका मेस्सीले अर्जेन्टिनी टोलीमा पनि यस्तै प्रभाव राख्ने गरेको हल्ला चल्छ । मेस्सीले कुन खेलाडीसँग राम्रो खेल खेल्न सकिन्छ उसलाई राख्ने अनि ठूला खेलाडीलाई टीमबाट हटाउने गर्छन् भनिन्छ । 

मेस्सी आफैंले चाहिँ यी दाबीहरूलाई खारेज गर्ने गरेका छन् तर उनी आफ्नो क्लब र देशका लागि प्रभावशाली खेलाडी भएको प्रस्ट छ । 

मेस्सीलाई सेभियाका खेलाडीहरूले रोक्ने विश्वास कापारोसले लिएका छन् र ला लिगा उपाधिमा आफ्नो आँखा रहेको पनि बताएका छन् ।

गोल डट्कमबाट
 

salt training

कमेन्ट गर्नुहोस्