
काठमाडौं — श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर भारतीय जासूसी संस्थाले आफूलाई मार्न खोजेको भनी प्रकाशित समाचारको खण्डन गरेका छन् ।
द हिन्दु पत्रिकामा छापिएको उक्त समाचारलाई सिरिसेनाले पूर्णतया अस्वीकार गरेको मोदीलाई बताएका छन् ।
समाचार पढेर स्तब्ध भएका मन्त्रीहरूको सभामा सिरिसेनाले उक्त बयान दिएका हुन् ।
सिरिसेना आजकल विवादमा परिरहेका छन् ।
अघिल्लो महिना उनले देशको राष्ट्रिय विमानसेवाको आलोचना गर्दै मान्छेले खान नमिल्ने काजु आफूलाई दिइएको भनेका थिए ।
त्यसको एक हप्ताभित्र उनले अस्ट्रियामा रहेका श्रीलंकाली राजदूत र दूतावासका सबै कर्मचारीलाई फिर्ता बोलाएका थिए किनकि उनले त्यहाँ गरेको फोन कसैले पनि उठाएको थिएन ।
भारतको परराष्ट्र मन्त्रालयले एउटा बयान जारी गर्दै सिरिसेनाले मोदीलाई फोन गरेर मोदी नजिकैको साथी भएको र श्रीलंकाको असल मित्र भएको बताएको जानकारी दियो । समाचार पूरै आधारहीन र झूटो भएको पनि उनले बताएको जानकारी दिइएको छ ।
सिरिसेनाले समाचारको खण्डन गरेर भारतलाई आश्वस्त तुल्याएको भएपनि यो घटनाले श्रीलंका सरकारलाई भने लज्जान्वित बनाएको छ ।
बीबीसीबाट