काठमाडौं — संगीतकार अनु मलिकमाथि गायिका श्वेता पण्डितले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । अनुले कामको बदलामा किसको माग गरेको उनको भनाइ छ ।
श्वेताले सामाजिक सञ्जालमा पोस्ट गर्दै सन् २००१ मा आफू जम्मा १५ वर्षकी हुँदा स्तब्ध बनाउने अनुभव गर्नुपरेको बताइन् ।
उनले लेखिन्, ‘म युवतीहरूलाई अनु मलिकबाट बच्ने सल्लाह दिन्छु । अनुजी, तपाईंको समय अब पूरा भएको छ ।’
सन् २००० मा आफूलाई मोहब्बतें फिल्ममा लीड सिंगरका रूपमा लउन्च गरिएको श्वेता बताउँछिन् । त्यतिखेर उनी सबभन्दा कान्छी गायिका थिइन् । उनका गीतहरू हिट भएपछि बलिउडबाट अनेकौं अफर आउन थाले ।
एक दिन अनु मलिकका व्यवस्थापक मुस्तफाले उनलाई कल गरे र गानाको अफर दिए । उनले श्वेतालाई एम्पायर स्टुडियोमा आउन लगाए ।
उनी त्यहाँ आमासँग पुगिन् । त्यतिखेर अनु आवारा पागल दीवाना फिल्मको गीत रेकर्ड गरिरहेका थिए ।
अनुले श्वेतालाई गाउन लगाए र उनको स्वरबाट प्रभावित भए । त्यसपछि उनले ‘म तिमीलाई सुनिधि चौहान र शानसँग मिलेर यो गीत गाउन दिन्छु तर त्यसअघि मलाई किस गर’ भने । अनि उनी मुस्काए । त्यो तर्साउने किसिमको
मुस्कान थियो । उनको कुरा सुनेर म डराएँ । मेरो अनुहार पहेंलो भयो ।
आफू त्यतिखेर जम्मा १५ वर्षकी भएको र स्कूलमा पढ्ने गरेको श्वेता बताउँछिन् । त्यो बेलामा यो घटनाको असर उनमा कस्तो परेको होला ? अझ अनु मलिक त उनको परिवारलाई पहिलेदेखि नै चिन्थे । तैपनि अनुले यस्तो घिनलाग्दो
हर्कत गरे ।
एजेन्सी