३१ जेठ २०८३, आइतबार

हत्या गर्नुअघि खशोग्गीको औंलाहरू काटिएको दाबी

कात्तिक १, २०७५
हत्या गर्नुअघि खशोग्गीको औंलाहरू काटिएको दाबी

काठमाडौं — टर्कीमा मारिएका साउदी पत्रकार जमाल खशोग्गीका बारेमा टर्कीको पत्रिका येनी सफाकले बुधवार सनसनीखेज समाचार दिएको छ ।

समाचारअनुसार, खशोग्गीलाई साउदी वाणिज्य दूतावासमा हत्याअघि यातना दिइएको थियो । अखबारले यस विषयको अडियो रेकडिङ आफूले सुनेको दाबी गरेको छ । 

सरकारसमर्थक पत्रिका येनी सफाकले खशोग्गीका कथित हत्याराहरूले सोधपुछका बेलामा उनका औंलाहरू काटेर यातना दिएको भनी लेखेको छ । 

खशोग्गी अक्टोबर २ तारिखमा दूतावास पसेदेखि गायब छन् । उनको हत्याका लागि साउदी अरबबाट १५ विशेषज्ञ टोली आएको बताइएको छ । साउदी शासनका कट्टर आलोचक खशोग्गीको हत्या आफूले नगरेको साउदीको भनाइ छ । 

टर्कीका सञ्चारमाध्यमहरूले दूतावासमै खशोग्गीको हत्या गरेर लाशको टुक्राटुक्रा पारिएको दाबी गरेका छन् । तर पहिलोपटक कुनै टर्किश पत्रिकाले अडियो टेप सुनेको दाबी गरेको हो । 

येनी सफाकले सुनेको टेपमा साउदी वाणिज्यदूत मोहम्मद अल ओतैबीले यसो भनिएको दाबी छ : ‘यो काम बाहिर गएर गर । तिमीहरूले मलाई समस्यामा पार्ने भयौ ।’

अनि टेपमा अर्को व्यक्तिले ओतैबीलाई भनेको सुनिन्छ : ‘तिमी बाँच्न चाहन्छौ भने साउदी अरब आउँदा चुइँक्क नबोल्नू ।’

यो टेप कसरी पाएको भनेर चाहिँ अखबारले खुलासा गरेको छैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्